डडेल्धुरा । जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ । अमरगढी किल्लाबाट पुरानो र आधा मात्रै शरीर देखिने थापाको शालिक हटाएर नयाँ राखेसँगै किल्लाको महत्व बढेको हो ।
अहिले थापाको नामबाट स्थापित नेपालको ऐतिहासिक अमरगढी किल्ला नेपाल आर्मी र स्थानीय सरकारको पहलमा पुनःनिर्माण गरेपछि आन्त्रिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् । गत साता राष्ट्रिय विभूति अमरसिंह थापाको नयाँ सालिक किल्ला परिसरमा अनावरण गरिएको अमरगढी नगरापलिकाका प्रमुख डिल्लीराज जोशीले बताए । पुरानो शालिक हटाएर नयाँ राख्दा किल्लाको सुन्दरता बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ ।
किल्ला परिसरमा यथाशीध्र पुराना शैलीका हातहतियार अन्य ऐतिहासिक र पुरात्वात्तिक वस्तुसमेत राखिने प्रमुख जोशीले जानकारी दिए। पर्यटकीय आकर्षणको केन्द्रका रुपमा रहेको यस परिसरमा पुराना हातहतियार, बन्धुक, तोप, गोला र काँडमका हतियार राख्न सके पर्यटक आकर्षित गर्न सहज हुने उनको भनाइ छ ।
पहिले राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ पूर्णकदको सालिक राखिएको अमरगढी नगरपालिकाले जनाएको छ । सालिकले किल्लाको गरिमा बढाउनुका साथै इतिहासलाई जीवन्त राख्ने काम गरेको छ ।
अमरगढी किल्ला, अजयमेरुकोटलगायत धार्मिक क्षेत्र पनि यस जिल्ल्लामा अवस्थित छन् । पुरात्वात्तिक विभागका साथै विभिन्न पहिचान र संस्कृति संरक्षणमा लागेका सङ्घसंस्थाले यसतर्फ ध्यान दिँदै जीर्ण संरचनाको संरक्षणका लागि पहल गर्नुपर्ने स्थानीय बताउछन् ।
अमरगढी नगरपालिकामा मात्रै राउलतोली गुफा, उग्रतारा मन्दिर, घटालथान, कस्याटाकुरो सहस्रलिङ्गलगायत धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । अग्रेजसँगको लडाइ लड्न अमरसिंह थापाको सेनाको फौज लामो समयसम्म तयार अमरगढी किल्लामा बसेको इतिहासकार बताउँछन् ।
थापाकै नामबाट सदरमुकामसमेत रहेको नगरपालिकाको नामाकरण अमरगढी भएको अमरगढीका सस्थापक प्रमुख मोहरनराज पाठकले जानकारी दिए । उनका अनुसार नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ ।
विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना भएको अमरगढी नगरपालिकाले विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा लिएको थियो । विसं २०५८ मा जनयुद्धका कारण जिल्लालाई सुरक्षा दिन सो किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि अवलोकन तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको थियो । हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दैनिक किल्ला अवलोकनका लागि बाह्य र आन्तरिक पर्यटक आउने गरेका छन् ।