काठमाडौं । मेलम्चीको पानी वितरण गरिने मुख्यस्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् ।
सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७ दशमलव ५ किलोमिटर सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका–१ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीय भने सुक्खा मौसममा काकाकुल छन् । यहीँबाट बागमती नदीको करीब ९ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ ।
वर्षायाममा बागमतीबाट करीब १३ करोड लिटर पानी वितरण गरिन्छ ।
यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा २ नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको बागमती नदीको पानी पनि पिउन पाएका छैनन् । खानेपानीको समस्या भएपछि स्थानीय परम्परागत ढुंगेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका स्थानीय सन्ध्या श्रेष्ठ खानेपानी लिन गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुखेसो पोख्छन् । पानी लिन करीब आधा घण्टा पैदल हिँडेर जाने र आधा घण्टा फर्किन समय लाग्ने उनको भनाइ छ । कहिले त पानीको लाइनमा १ घण्टा बस्दा २ घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उनी बताउँछन् ।
धारामा धेरै मानिस खानेपानीको लाममा बस्ने गरेकाले घण्टौं कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । यस्तो समस्या भोग्ने श्रेष्ठ मात्र होइनन्, यहाँका हजारौंको समस्या उस्तै छ । आधारभूत खानेपानी सेवा विस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले १ कार्यकाल पूरा गर्दा पनि समस्या समाधान हुन सकेको छैन ।
स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दीगो हुन नसक्दा संविधानमा मौलिक हकका रूपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ । गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले खानेपानी नपाए मेलम्चीको पानी बागमतीमा बगाउने चेतावनी दिँदा समेत समस्या समाधान हुन सकेको छैन ।
गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेट विनियोजन गरी पानी माग गर्दा पनि सम्बोधन नभएको बताए ।