गुल्मी । नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् ।
पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिए ।
उनका अनुसार यहाँका वन क्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये ६ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरूको बासस्थान बनेको उनले बताए ।
यहाँ नेपालमा मात्र पाइने काँडेभ्याकु पनि फेला परेको छ । पक्षी संरक्षण संघले पछिल्लोपटक गरेकोे चरा गणनाअनुसार रेसुङ्गा वन क्षेत्रमा २५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा फेला परेका तथ्यांक छ । समग्र यहाँका वनमा ३०५ प्रजातिका चरा भेटिएका र यो संख्या नेपालमा पाइने चरा प्रजातिको संख्याअनुसार ३५ प्रतिशत रहेको जनाइएको छ ।
समुन्द्र सतहदेखि २ हजार ३०० मिटरको उचाइमा रहेको यो क्षेत्र पर्यावरणीय र जैविक विविधताले पनि भरिपूर्ण मानिन्छ । यहाँ पाइने सयौं प्रकारका वनस्पतिले अतिसंकटापूर्ण अवस्थामा रहेका चराको बासस्थानलाई जोगाउन मद्दत पुर्याएको छ ।
संघले गुल्मीको रेसुङ्गा र गुल्मी दरबारमा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराहरूको खोजी गर्दै आइरहेको छ । कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयलाई वन–जंगलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनमा टेवा पुर्याउने गतिविधि सञ्चालन गरिरहेको छ ।
यहाँ दुर्लभ प्रजातिका चरा भए पनि तिनको संरक्षणका लागि उपयुक्त बासस्थान र खानेपानी अभाव मुख्य चुनौतीका रूपमा रहेको जानकारहरू बताउँछन् । त्यसका अतिरिक्त वन डढेलोका कारण दुर्लभ चराहरू संरक्षणमा थप चुनौती थपिएको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेको भनाइ छ । ‘जिल्लामा चरा पर्यटन क्षेत्रको प्रचुर सम्भावना छ । यिनको विकास र संरक्षणले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसैले यहाँको वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दीगो विकासमा स्थानीय सरकार र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ,’ पाण्डेले भने ।
पछिल्लो समयमा वन डढेलो, विद्युतीय प्रसारण लाइन, खानेपानीको अभाव र वन्यजन्तु एवं चराचुरुंगीहरूको अवैध चोरीशिकार आदिका कारण चरा पनि संकटापन्न अवस्थामा रहेका छन् । नेपाल पक्षी संरक्षण संघले विगत ६ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा गणना र संरक्षणका क्षेत्रमा काम गरिरहेको छ ।