चितवन । कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ ।
कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रूपमा दाद फैलिएको छ । उनले भने, ‘अहिले यो समस्या २०० भन्दा बढी कैदीबन्दीमा देखिएको छ ।’ साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उनले बताए ।
कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या देखिएको छ ।
‘गर्मीले कमजोरी महसूस गर्ने कैदीबन्दीको संख्या बढ्दो क्रममा छ,’ उनले भने । उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उनले जानकारी दिए ।
अस्पताल लगेर भर्ना गर्नुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाइएको जिल्ला कारागार प्रमुख कमलनाथ आचार्यले बताए । अन्य दीर्घरोगीको नियमित उपचार भइरहेकाले गर्मीको समयमा देखिने रोगको उपचारका लागि कार्यालयले सतर्कता अपनाएको उनको भनाइ छ ।
गर्मी बढेसँगै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विगत ४ महिनादेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्नुपरेको कारागार कार्यालयले जनाएको छ । अहिले २ वटा ब्लकमा ५० जनाभन्दा बढीलाई त्रिपालमुनि राखिएको उनले जानकारी दिए ।
जिल्ला कारागार चितवनमा हाल ७३४ कैदीबन्दी छन् । २५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ६९४ जना र २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४० जना कैदीबन्दी छन् । उनीहरूसँग आश्रित २ जना बालबालिका समेत रहेका कार्यालयले जनाएको छ ।