नजबुल खान ‘नीलम’ सामाजिक अभियन्ता हुन् । देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन भनी २०६२/६३ को जनआन्दोलन चलेको थियो । उदयपुरबाट उनी पनि आन्दोलनमा नारा लगाउँदै थिइन् । अचानक प्रहरीले हानेको अश्रुग्यासमा उनी हराइन् । ढलिन् । जब होस आयो तब उनी अस्पतालमा थिइन् । बोल्न खोज्दा स्वर थिएन ।
प्रहरीले हानेकाे अश्रुग्यासकाे खाेकाले आवाज भासिएपछि सधैंलाई बोल्न सक्दैनस् भन्थे । त्यस्तै लाग्थ्यो नबजुललाई पनि । तर जनताको सेवा गर्न लेखेको रहेछ । उनको आवाजको खाँचो रहेछ, उदयपुरका दिदीबहिनीलाई । त्यसैले उनको आवाज बिस्तारै-बिस्तारै गरी फर्कियो । भासिएको आवाज पूर्णरूपमा नफर्किए पनि समाजका लागि बोलिरहिन् उनी । अहिले भने त्यही आवाज लोकप्रिय भइदिएको छ । त्यसैले त उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीकी ४३ वर्षीय खान ‘दबंग लेडी’, 'विद्रोही छोरी', ‘नजबुल खान, उदयपुरको शान’ जस्ता उपनामले पनि चिनिन्छिन् ।
शिरबाट बुर्का हटाएर पाइन्ट, टि-शर्ट लगाएर मैदानमा उत्रिएकी खानले आफैसँग विद्रोह गरिन् । बुर्का नलगाएको पनि दुई दशक भयो उनले । भन्छिन्, ‘समाज बदल्न पहिला आफूलाई बदल्न सक्नु पर्दोरहेछ ।’
'अश्रुग्यासको खोका घाँटीमा लागेर स्वर दबे पनि बाइक चढेर गाउँगाउँमा पुगेर आवाजविहीनको आवाज उठाइरहेकी छु । धेरै खर्च गरेर उपचार गर्दा पनि पूरै स्वर भने आएकाे छैन । स्वर नबुझिने भए पनि समाजकाे व्यथा बुझाउन सक्ने भएकी छु', उनले भनिन् ।
‘हिम्मतवाली’, ‘मुस्लिम महिला अभियन्ता’, ‘सामाजिक अभियन्ता’, ‘बेटी सम्मेलन की अभियन्ता’का रूपमा परिचय बनाएकी नजबुल मुस्लिम समुदायकी भएर पनि बुर्का बाहिर छिन् । शिरबाट बुर्का हटाएर पाइन्ट, टि-सर्ट लगाएर मैदानमा उत्रिएकी उनले आफैंसँग विद्रोह गरिन् । बुर्का नलगाएको पनि दुई दशक भयो उनले । भन्छिन्, ‘समाज बदल्न पहिला आफूलाई बदल्न सक्नु पर्दोरहेछ ।’
केही समयअगाडि मात्र पाँचौं बेटी सम्मेलन गरेकी नजबुल देशभरिका छोरीचेली पढाउने र बचाउने सवालमा खरो उत्रिएकी छन् । भन्छिन्, ‘महिलाका हक, अधिकार र समावेशी समानताका पक्षमा बुलन्द आवाज उठाँउदै छु । राष्ट्रिय बेटी सम्मेलन, चेलीबेटी सशक्तिकरणको अभियान लिएर अगाडि बढिरहेकी छु ।'
नजबुल निःशुल्क रूपमा स्यानीटरी प्याड बनाउने अभियानमा छिन् । अब छैंटौं बेटी सम्मेलन कर्णाली प्रदेशको सुर्खेतमा गर्ने तयारी भइरहेकाे छ ।
ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने परिवारमा जन्मेकी नजबुलले बेटी सम्मेलनमार्फत् नेपालमा स्यानीटरी प्याड सरकारी तवरबाट निःशुल्क वितरण हुनुपर्ने माग राख्दै आएकी छिन् । २०७५ माघ २७, २८, २९ गते प्रथम राष्ट्रिय बेटी सम्मेलन गरेयता उनी निरन्तर महिलाको मुद्दालाई लिएर गम्भीर छिन् ।
मुस्लिम समुदायकी छोरी भएकै कारण आफूले बाल्यकालमा पढ्न नपाएको गुनासो सुनाइन् नजबुलले । स्कुल पठाउनुको साटो बाख्रा गोठालो र आँपको बगैंचा कुर्न लगाइदिन्थे । त्यसको अतिरिक्त समय उनले घरमा मसला पिँध्ने, भान्सामा आमालाई सघाउने, खेतमा तरकारी रोप्ने काम गर्थिन् । त्यसैले सबैले सानैदेखि पढ्न पाउनुपर्छ भन्ने वकालत गर्दै आएकी छन् नजबुल ।
‘समाजमा महिला वर्गलाई हेर्ने दृष्टि सकारात्मक बनाउनु छ । महिला अंकित स्तम्भ बनाउनु छ । समानता, समावेशी र मानवअधिकारका लागि आवाज उठाउनु छ’, उनले भनिन् ।
अभियानकै क्रममा नजबुललाई धेरै अज्ञात मानिसबाट पनि धम्की र डर नआएको होइन, तर उनी निर्धक्क भएर हिँड्छिन् । आफ्नो अभियानलाई उनले रोकेकी छैनन् । सामाजिक काम गर्न अत्यन्तै गाह्रो छ । चुनौती छ । अझ नेपाली समाजमा दलित, मुस्लिम तथा मधेशी समुदायका महिलाहरूकाे अर्को संघर्ष छ । भन्छिन्, ‘मलाई अभियान तथा आन्दोलनका विभिन्न क्रममा अज्ञात मानिसहरूबाट धम्की आयो । आक्रमणसमेत गर्न खोजे तर मैले अभियानलाई रोकिनँ ।’
नजबुल मुस्लिम समुदायकी पहिलो महिला ट्याम्पु चालकसमेत हुन् । पैसाको अभावले गर्दा काठमाडाैं बत्तिसपुतलीमा कमला ड्राइभिङ सेन्टरमा टेम्पो सिकेर उदयपुर गई उनले १५ हजार भाडामा टेम्पो लिएर चलाउन सुरु गरेकी थिइन् । मुस्लिम समुदायमा टेम्पो चलाउँदा पनि अर्को चुनौती थियो । भन्छिन्, ‘मुस्लिमको छोरी भएर टेम्पो चलाउन मिल्दैन भनेर टिप्पणी गर्थे तर कवाडी बेच्न हुने, चुरा बेच्न मिल्ने, व्यापार गर्न मिल्ने, तर टेम्पो चलाउने जस्तो सम्मानित पेसा गर्न किन नमिल्ने यस्तै प्रश्न गरें ।’
प्रौढ शिक्षाका कक्षा लिन शिरमा बुर्का हालेर जाने नजबुलले अक्षरहरूको संगतपछि बुर्का शिरबाट हटाइदिइन् । यसकै कारणले बा-आमाले गाली गरे भने कयौं साथी, गाउँसमाजले गति छाडाको संज्ञा दिए । बालविवाह, अनमेल विवाह, बहुविवाह रोकेर चेलीबेटीलाई पढाउन भने उनले काेसिस गरिरहिन् ।
मुस्लिम समुदायका छोरीहरूलाई घर समाजले विवाह गर्दिने उमेरमा नजबुलले प्रौढ शिक्षा पढिन् । र त्यही प्रौढ शिक्षाको जगबाट उनी कक्षा चारमा भर्ना भइन् । १८ वर्षको उमेरमा स्कुलमा भर्ना नदिएपछि प्रौढ कक्षा भर्ना भएर पढेकी हुन् । पछि उनले उदयपुरकै जनज्योति प्राथमिक विद्यालयमा ४ कक्षामा आधिकारिक पढाइ सुरु गरिन् । अहिले स्नातक पढ्दै छिन् उनी ।
नबजुलले समावेशी समानताका लागि स्थानीय तह, प्रदेश तह र संघमा महिलाका लागि आसनमा महिला, भाषणमा महिला र शासनमा महिलाको उचित स्थान हुनुपर्छ भन्ने माग राख्दै आएकी छिन् ।
समाज परिवर्तन गर्न राजनीतिक पहल पनि हुनुपर्ने भएकाले उनले राजनीतिलाई पनि सँगसँगै अगाडि बढाएकी छिन् । भन्छिन्, ‘राजनीतिमा चासो छ । मुस्लिम समुदाय मात्र नभएर दलित, महिला, अपांग, जनजाति आदिलाई संविधानले त अवसर दिएको छ तर कार्यान्वयन गर्ने निकायले ध्यान नदिँदा चित्त दुख्छ ।’
वि.सं २०६० सालमा मूलधार महिला सेवा केन्द्र दर्ता गरेयता नजबुल निरन्तररूपमा सामाजिक काममा सक्रिय छिन् । कक्षा ६ मा पढ्दा उनले एक्सन एडमा जागिरेको रूपमा काम गरेकी थिइन् ।
मुस्लिम समुदायका छोरीहरूलाई घर समाजले विवाह गर्दिने उमेरमा नजबुलले प्रौढ शिक्षा पढिन् । र त्यही प्रौढ शिक्षाको जगबाट उनी कक्षामा भर्ना भइन् । अहिले स्नातक पढ्ने सक्ने कोसिसमा छन् । १८ वर्षको उमेरमा स्कुलमा भर्ना नदिएपछि प्रौढ कक्षा भर्ना भएर पढिन् । पछि उदयपुरकै जनज्योति प्राथमिक विद्यालयमा ४ कक्षामा आधिकारिक पढाइ सुरू गरिन् ।
एक्सन एड बंगलादेशकी कन्ट्री को-अर्डिनेटर फरहा कवीरको सहयोगमा सावित्री पोखरेलसहित सन् २०१८ को फेब्रअरीमा बंगलादेश पुगेकी नजबुल महिलाको अधिकार, सामाजिक कुरीति विरुद्ध जनजागरण कार्यक्रममा सहभागी भएकी थिइन् । नेपालमा आफूले बनाएको नारा 'आसनमा महिला, भाषणमा महिला, शासनमा महिला' बंगलादेशमा पनि बंगाली भाषामा रूपान्तरण गरेर प्रचारप्रसार भइरहेको उनले बताइन् ।
साहसिक काम गर्ने अभियन्ता हुन् नजबुल, जसले बुर्का त्यागेर हिँडिन् । उनले आफू र आफ्नो परिवारमा पहिला संघर्ष गर्नु थियो । भन्छिन्, ‘आफूलाई बदल्न नसक्नेहरूले अरूलाई बदल्न सक्दैनन् । पहिला आफूलाई बदलौं । अनि समाज बदलिन्छ ।’
उनले सञ्चालन गरेको अभियान र साहसका कारण विभिन्न सम्मान पाएकी छन् । सन् २०१४ मा भारतबाट ‘महिला शक्ति शिरोमणि पुरस्कार’, नेपालमा ६८ औं मानव अधिकार दिवसको अवसरमा ‘आठौं मेग्नामेन्ट समितिले विद्रोही छोरीको पुरस्कार’, ‘दयाराम परियार स्मृति राष्ट्रिय पुरस्कार’, ‘प्रेम सागरी देवी पुरस्कार’लगायतको पुरस्कार पाइसकेकी छन् ।
सामाजिक काम नगरेको दिन नजबुललाई निद लाग्दैन । अझै विवाह गर्ने सोच नबनाएकी खान भन्छिन्, ‘दिमागमा समझदारी, काँधमा जिम्मेदारी, हृदयमा इमान्दारी र हरेक काममा साझेदारी भयो भने सफल भइन्छ ।’