काठमाडौं । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै १ हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सल्टेन्सीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका–९ का २६ वर्षीय राजेश साउँद, अछाम रामारोशन गाउँपालिका–१ का २५ वर्षीय टंकराज खनाल, काठमाडौंको धुम्बाराही बस्ने काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौंको नरेफाँट बस्ने मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।
उनले भने, ‘पक्राउ परेकाले कम्तीमा पनि १ हजारभन्दा धेरै व्यक्तिहरूबाट २ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएकाले हामीले पक्राउ गरेका छौं ।’
रेशम रावलले काठमाडौंको कोटेश्वर र तिनकुनेमा सञ्चालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्सबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिसामा पठाउने भन्दै गैरकानूनी रुपमा कागजात, रकम संकलन गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी जिसीले बताए ।
प्रहरीले कन्सलटेन्सीबाट २२० थान राहदानी बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूले विभिन्न सामाजिक सञ्जालमार्फत विभिन्न देशमा आकर्षक तलब भत्ता सेवा सुविधा पाइन्छ भनी झूटा विज्ञापन प्रचारप्रसार गर्ने गरेको, पीडितको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितलाई १ लाख ५० हजारदेखि २ लाखसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता दिने भनी थर्काउने गरेको आरोप छ । विभिन्न होटल, कृषि फार्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झूटा कागजात बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको सूचना अधिकारी जिसीले जानकारी दिए ।