काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली जनताको आशा र भरोसा जगाउने गरी रक्षा मन्त्रालय र मातहतका निकायबाट कार्यसम्पादन भइरहेको बताएका छन् ।
रक्षा मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पूरा भएको सन्दर्भमा मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालय मातहत सञ्चालित आयोजनामध्ये अधिकांशको यस अवधिमा प्रगति सन्तोषजनक रहेको स्पष्ट पारे ।
मन्त्री उप्रेतीले भने, ‘राष्ट्रिय गौरव लगायतका आयोजनाको हालसम्मको कार्यप्रगतिबाट नेपाली सेनाप्रति जनतामा आशा, विश्वास र भरोसा बढाएको छ ।’
त्यसअवसरमा रक्षामन्त्री उप्रेतीले मन्त्रालयको नेतृत्व लिएयता भएका प्रमुख नीतिगत, कानूनी, संस्थागत र प्रक्रियागत सुधारका विषयबारे जानकारी गराएका थिए । उनले नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौं–तराई–मधेश दू्रतमार्गको भौतिक प्रगति ३४ दशमलव ८२ प्रतिशत र वित्तीय प्रगति ३६ दशमलव ०७ प्रतिशत पुगेको जानकारी दिए ।
आयोजनाको समष्टिगत कार्ययोजनाअनुरूप १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म द्रूतमार्गको ६ दशमलव ५ किलोमिटरदेखि अन्तिम विन्दु ७० दशमलव ९७७ सम्मको खण्डमा पर्ने १२ वटा निर्माण प्याकेजको खरिद सम्झौता भई कार्यान्वयन चरणमा रहेको जानकारी दिइएको छ ।
द्रुतमार्ग सडक आयोजनाअन्तर्गत भएका जग्गा अधिग्रहणमा लाग्दै आएको पुँजीगत लाभकर नलाग्ने, सेनाद्वारा निर्माणाधिन विभिन्न सडक करिडोर आयोजनामा कार्यरत सुरक्षाकर्मीको मनोबल बढाउन जोखिम भत्ता उपलब्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्ने कार्य भइरहेको जानकारी उनले दिए ।
सो अवसरमा रक्षामन्त्रालय मातहतको १ अर्ब ७९ करोड २० लाख बेरुजु फर्छ्यौट भई उल्लेखनीय प्रगति हासिल भएको जनाइएको छ । यसअवधिमा सुरक्षा र प्रतिरक्षा सम्बन्धी पुस्तक तथा दस्तावेज संकलन र संरक्षण गर्ने उद्देश्यले वाचनालायको सुविधा सहितको पुस्तकालय सञ्चालनमा आएको, चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरूप प्राप्त भई हालसम्म प्रयोगविहीन विभिन्न प्रकृतिका ९५ वटा सवारीसाधन दर्ता प्रक्रियामा अघि बढाइएको जानकारी दिइएको छ ।