काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला सचिव धनराज ज्ञवाली अनिवार्य अवकाश भएका छन् । ३७ वर्ष २ महिना निजामती सेजामा बिताएका ज्ञवालीले शुक्रबार अनिवार्य अवकाश लिएका हुन् ।
२०४३ साल वैशाख १५ गते न्याय सेवाको खरिदारबाट निजामती सेवामा प्रवेश गरेका ज्ञवालीलाई शुक्रबार कानून मन्त्री धनराज गुरुङले मायाको चिनोसहित बिदाइ गरेका छन् ।
६ वर्ष नायव सुब्बा, शाखा अधिकृत ६ वर्ष, उपसचिव १४ वर्ष, ७ वर्ष सहसचिव र त्यसपछि सचिव पदमा रही काम गरेका ज्ञवालीले जागिरे अवधिमा सचिव भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहसचिव रहँदा कानुन मन्त्रालय, कानुन आयोग र गृह मन्त्रालयमा काम गरेका थिए ।
उनी संविधान तथा संघीयताबारे विशेष जानकार मानिन्छन् । ज्ञवालीले कर्मचारी समायोजनमा समेत काम गरेका थिए ।
यस्तो छ आगामी कानुन सचिवको दाबी
सचिव ज्ञवालीको अवकाशसँगै कानुन मन्त्रालयको सचिवमा लीलादेवी गड्तौला ल्याउने सरकारको तयारी छ । यदि त्यसो भएमा नेपाल कानुन आयोगको सचिव रहेकी गड्तौला पहिलो महिला कानुन सचिव बन्ने भाग्यमानी सचिवको अवसर पाउनेछिन् ।
कानुनतर्फ सिनियर मोष्ट सचिवका रूपमा रहेका उदयराज सापकोटा (हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत) डेढ वर्ष कानुन मन्त्रालयमा बसिसकेका छन् । सापकोटा पछिका ज्ञवालीले अवकाश लिएसँगै सिनियरमोष्टका हिसाबले गड्तौलालाई नै ल्याउने तयारी रहेको स्रोतको भनाइ छ ।
२०७७ कार्तिकमा सचिव पदमा बढुवा भएकी गड्तौला शाखा अधिकृत, उपसचिव र सहसचिव सम्मै १७ वर्ष कानुन मन्त्रालय बसिसकेकी छिन् । उनको कार्य अवधि १३ महिना बाँकी छ ।