सुदूरपश्चिम । चालू आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादनको आकार ४ खर्ब ४ अर्ब २८ करोड र आर्थिक वृद्धिदर ३ दशमलब ४१ प्रतिशत रहने अनुमान छ ।
गत आवमा वृद्धिदर १ दशमलब ५२ प्रतिशत रहेको थियो । प्रदेश सभाको शुक्रबारको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आव २०८०/८१ को गत फागुन महिनासम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आवमा राष्ट्रिय अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८४ करोड हुने र आर्थिक वृद्धिदर ३ दशमलब ५४ प्रतिशत हुने अनुमान गरिएको बताए ।
प्रदेश सरकारले प्रदेश सभाको बैठकमा असार १ गते आगामी आव २०८१/८२ को लागि राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्दैछ । बजेट प्रस्तुत गर्नअघि प्रदेश सभाको शुक्रबारको बैठकमा आर्थिक मामिलामन्त्री पालले प्रदेशभित्रका समष्टिगत आर्थिक परिसूचक, खर्चको प्रवृत्ति, सामाजिक विकासका प्रमुख सूचकहरू समावेश गरिएको आव २०८०/८१ को फागुनसम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गरे ।
प्रस्तुत आर्थिक सर्वेक्षणमा चालू आवमा राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान ७ दशमलव १ प्रतिशत रहने अनुमान गरिएको छ । चालू आवको फागुनसम्ममा औसत उपभोक्ता मुद्रास्फिति ४ दशमलव ८२ प्रतिशत र औसत थोक मुद्रास्फिति ३ दशमलव ६९ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणमा चालू आवमा कृषि क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३ दशमलव ४२ प्रतिशत र ४ दशमलव ०९ प्रतिशत धनात्मक रहने अनुमान गरिएको छ । आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशको आय १ हजार ६३ अमेरिकी डलर रहेकोमा चालू आव २०८०/८१ मा उक्त आय १ हजार १११ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।
चालू आवको गत फागुनसम्म प्रदेश सरकारको कूल आय गत आवको सोही अवधिको तुलनामा १३ दशमलब ५६ प्रतिशतले घटेर १७ अर्ब ९९ करोड ४७ लाख पुगेको छ । गत फागुनसम्म सरकारको आन्तरिक राजस्व ७६ करोड ६४ लाख, बाँडफाँटबाट प्राप्त राजस्व ४ अर्ब ८७ करोड, संघीय अनुदान प्राप्त ७ अर्ब ७८ करोड ९१ लाख र नगद मौज्दात ४ अर्ब ४६ करोड २ लाख गरी कूल आय १७ अर्ब ९९ करोड ४७ लाख रहेको छ ।
फागुनसम्म प्रदेश सरकारको कूल खर्च ७ अर्ब १४ करोड ७३ लाख रहेको छ । जसमध्ये चालू खर्च ३ अर्ब ७० करोड २४ लाख र पुँजीगत खर्च ३ अर्ब ४४ करोड ४९ लाख रहेको छ । चालू वर्षको फागुनसम्मको सरकारको राजस्वमध्ये कर राजस्व ४४ करोड १३ लाख र गैरकर राजस्व ३२ करोड ५१ लाख रहेको छ ।
आर्थिक सर्वेक्षणमा चालू वर्षको गत फागुनसम्म प्रदेशका स्थानीय तहको चालू र पुँजीगत गरी कूल २३ अर्ब ८८ करोड ३३ लाख खर्च भएको छ । यो अवधिमा स्थानीय तहलाई प्रदेश सरकारले १९ करोड ४२ लाख राजस्व बाँडफाँटबापत वित्तीय हस्तान्तरण गरेको छ । चालू वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १ खर्ब ३७ अर्ब पुगेको र कर्जा प्रवाह १ खर्ब ५३ अर्ब रहेको छ ।
आर्थिक सर्वेक्षणमा चालू वर्षको फागुनसम्म प्रदेशको १ लाख ८० हजार हेक्टरमा धान बाली खेती भएकोमा ६ लाख ७४ हजार मेट्रिकटन उत्पादन भएको अनुमान गरिएको छ । मकै १ लाख ३ हजार मेट्रिक टन, कोदोे १९ हजार मेट्रिक टन उत्पादन भएको अनुमान छ ।
प्रदेशमा दर्ता भएका १ हजार ५०५ वटा नयाँ उद्योगको कूलस्थिर पुँजी र ९९ करोड र चालू पुँजी ८६ करोड ६० लाख रहेको र यी उद्योगबाट ४ हजार ६२१ रोजगारी सिर्जना हुने, पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि भएको लगायतका विषय आर्थिक सर्वेक्षणमा समेटिएको छ ।