काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
नेपाललाई अन्तिम ८ मा स्थान बनाउनका लागि दक्षिण अफ्रिका विरुद्धको शनिबारको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर ८ मा पुगिसकेको छ ।
दक्षिण अफ्रिकाले यसअघि खेलेका ३ वटै खेलमा जीत हासिल गरेको थियो । उसले श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै १ खेलअगावै सुपर ८ मा पुगेको छ ।
नेपालले यसअघि खेलेका २ मध्ये १ मा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलंका विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले १/१ अंक बाँडेका थिए ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आशीफ सेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्शन झा, करन केसी, सन्दीप लामिछाने र अभिनाश बोहोरा छन् ।