काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार जारी खेलमा दक्षिण अफ्रिकाले नेपालसामू जीतका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रनको योगफल बनायो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए ।
कूल ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।
टिस्टन स्टब्सले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन बनाए भने आइडेन मार्करमले २२ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोड्दा डेभिड मिलरले ७ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ विकेट झारे । सिनियर क्रिकेट प्रतियोगितामा यी २ टोली पहिलो पटक आमने सामने भएका हुन् ।
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै १ खेल अगावै सुपर ८ मा पुगेको हो ।
नेपालले यसअघि खेलेका २ मध्ये १ मा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलंका विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले १/१ अंक बाँडेका थिए ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आशीफ सेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्शन झा, करन केसी, सन्दीप लामिछाने र अभिनाश बोहोरा छन् ।