बैतडी । वाईवाई यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटको उपाधि बैतडीले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा कैलालीमाथि ७४ रनको जीत निकाल्दै बैतडीले उपाधि रक्षा गरेको हो ।
बैतडीले दिएको २३१ रनको लक्ष्य पछ्याएको कैलाली २५ दशमलव ५ ओभरमा १५६ रनमा अलआउट भयो । नरेन साउदले अर्धसतकीय पारी खेल्दै ६२ रन बनाए पनि अन्य ब्याटरले खासै प्रदर्शन गर्न नसक्दा कैलालीले उपविजेतामै चित्त बुझायो ।
बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट हात पारे । म्यान अफ द फाइनल समेत चुनिएका सचिनले ७ दशमलव ५ ओभरमा ४१ रन खर्चिंदै ६ विकेट लिएका हुन् ।
यसअघि परशुराम रंगमैदानमा पहिला ब्याटिङ गरेको बैतडी ४५ ओभरमा २३० रनमा समेटियो । जसमा आयुस चन्दले अविजित ६३, कप्तान नरेन भट्टले ४८, सुमित बुडालले ३८, सचिन भट्टले २६ रन योगदान गरे । कैलालीका लागि डम्बर माझी र भुपेश जोशीले ३/३ विकेट झारे ।
विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशी लगायतले पुरस्कार वितरण गरे ।
गत जेठ २० गतेदेखि सुरु भएको प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता थियो । छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए ।