काठमाडौं । महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका २ लाख २५ हजार ४ सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगा भैसीभन्दा गाई गोरुमा ‘लम्पी स्किन’ को समस्या बढी देखिएको छ ।
लम्पी स्किनबाट शुक्रबारसम्ममा ५ हजार ४२ गाई भैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका फोकल पर्सन डा देवकुमार दर्लामीका अनुसार लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ ।
प्रदेशभर ४ हजार ९ सय ७९ गाई गोरु र ६१ रागा भैँसी मरेका छन् । ती मध्ये सबैभन्दा बढी इलाममा १ हजार ३ सय ८२ गाई गोरु र राँगा भैँसी मरेको निर्देशनालयले जनाएको छ । झापामा ५ सय ४, पाँचथरमा ४ सय २२, मोरङमा ४ सय ८८, उदयपुरमा ३ सय ८५, सुनसरीमा ३ सय ६२, खोटाङमा २ सय ७९, धनकुटामा २ सय ७७, सङ्खुवासभामा २ सय ८५, ओखलढुङ्गामा २ सय २, तेह्रथुममा १ सय ४४, ताप्लेजुङमा १ सय ७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाई गोरु र राँगा भैँसी लम्पी स्किनको सङ्क्रमणबाट मरिसकेका छन् ।
मृत्युदर इलाममा धेरै भएतापनि प्रभावित पशु पाँचथरमा धेरै छन् । आजसम्मको तथ्याङ्कअनुसार पाँचथरमा ३३ हजार ८७ गाई गोरु र राँगा भैँसी लम्पी स्किनबाट सङ्क्रमित रहेको निर्देशनालयका फोकल पर्सन डा. दर्लामीले जानकारी दिए ।
उनका अनुसार इलाममा ३१ हजार ३ सय ४९, धनकुटामा २१ हजार ५ सय ६८, उदयपुरमा २१ हजार १ सय ८८, सुनसरीमा १७ हजार ८ सय ८६, तेह्रथुममा १५ हजार ९ सय ८६, मोरङमा १३ हजार ८ सय ९०, सङ्खुवासभामा १३ हजार ४ सय ६०, खोटाङमा १२ हजार ९ सय १०, ओखलढुङ्गामा ७ हजार ६ सय ९४, ताप्लेजुङमा ७ हजार ६ सय २३, भोजपुरमा ७ हजार १ सय ५२ र सोलुखुम्बुमा ७ सय ५ गाई गोरु र राँगा भैँसीमा लम्पी स्किमको सङ्क्रमण पुष्टि भइसकेको छ ।
लम्पी स्किनको सङ्क्रमण गाई गोरुको तुलनामा राँगा भैँसीमा न्यून सङ्ख्यामा देखिएको छ । कोशी प्रदेशमा सङ्क्रमित सङ्ख्यामध्ये गाई गोरु २ लाख २३ हजार ७ सय २६ छ भने राँगा भैँसीको सङ्ख्या १ हजार ८ सय १७ मात्र रहेको छ ।
एक लाख बढीलाई खोप
लम्पी स्किन रोगको सङ्क्रमण रोक्न कोशी प्रदेश सरकारले ११ जिल्लामा पशुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । पशु स्वास्थ्य प्राविधिकले गोठमै पुगेर पशुमा खोप लगाइरहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निमित्त प्रमुख डा. पशुपति ढुङ्गानाका अनुसार कोशी प्रदेशका सबै जिल्लाका एक लाख सात हजार पाँच सय १० पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।
सबैभन्दा बढी झापामा ३० हजार ४ सय ५६ वटा पशुमा लम्पीविरुद्धको खोप लगाइएको छ । इलाममा २७ हजार ५४, पाँचथरमा १४ हजार ३ सय, ताप्लेजुङमा ९ हजार १ सय, मोरङमा ५ हजार ७ सय ८२, उदयपुरमा १ हजार ६ सय ८६, खोटाङमा ४ हजार १ सय ९२, ओखलढुङ्गामा ४ हजार ६ सय ७५, सोलुखुम्बुमा २ हजार ६ सय, धनकुटामा २ हजार २ सय र सुनसरीमा ५ हजार ४ सय ७५ पशुमा खोप लगाउने कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए ।
पहाडी जिल्ला धनकुटा, सङ्खुवासभा र भोजपुरमा लम्पीविरुद्धको खोप लगाउन बाँकी नै छ ।