काठमाडौं । जनकपुरधामको रामानन्दचोकमा रहेको सुरक्षा अस्पतालमा एक महिलाको मृत्यु भएको छ । सुरक्षा अस्पतालका चिकित्सकले शल्यक्रिया गर्ने क्रममा लापरवाही गर्दा जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएको हो ।
साहको मृत्यु भएपछि उनका आफान्तले अस्पताल अगाडि आन्दोलन गरेका छन् भने चिकित्सक अस्पताल छाडेर फरार भएका छन् ।
साहको पाठेघरमा समस्या देखिएपछि शल्यक्रिया गर्न बुधवार सुरक्षा अस्पतालमा भर्ना गराएको थियो । बुधबारनै चिकित्सकले उनको शल्यक्रिया गरे । तर, शल्यक्रिया गरेको दुई दिनपछि शुक्रबार दिउँसो उनको मृत्यु भयो । चिकित्सकले शल्यक्रियामा लापरवाही गरेको कारण साहको मृत्यु भएको उनका भाइ उदयकुमार साहले आरोप लगाएका छन् ।
यस्तो थियो घटनाक्रम
भाइ उदयकुमार साहका अनुसार बुधबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया असफल जस्तो भएपछि चिकित्सकहरु आत्तिएर तुरन्तै टाका लगाएका थिए ।
शुक्रबार दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् । केहीबेरमै चिकित्सक तथा स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर अन्य लग्ने प्रयासमा थिए । आफन्तजनले रोकेर कराएपछि स्थानीय जम्मा भएका थिए ।
अस्पतालमा महिलाको मृत्यु भएपछि आफान्तले लास गेटमै राखेर प्रदर्शन गरेका थिए । अस्पतालको अवस्था तनावग्रस्त भएपछि चिकित्सकहरु भागेका हुन् । प्रदर्शनबाट कुनै प्रकारको क्षति हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो ।
चिकित्सकहरु भागेपछि त्यहाँका बिरामीहरुलाई अन्य अस्पतालमा सारेर ताला लगाइएको छ।मृतक साहको पाँच घण्टा पछि शव पोस्टमार्टमका लागि लगिएको हो ।