काठमाडौं । नेपालभरी डेंगुका बिरामी बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र २ हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
डेंगुका बिरामी असार २५ देखि साउन ५ गतेसम्म २ हजारभन्दा बढी थपिएको महाशाखाले जनाएको छ ।
दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका बताइएको छ।
बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ।
हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २ सय ५८, दार्चुलामा १ सय ८८, कास्कीमा १ सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ।
यस्तै काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५,म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेका छन्।
डेंगु संक्रमितको संख्या दिनहुँ बढ्दै गएको कारण महाशाखाले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।