बागलुङ । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिका भित्रका ३ सडक कालोपत्र गर्न थालिएका छन् ।
कालोपत्रका लागि निर्माण व्यवसायीसँग जेठ २३ गते १ वर्षका लागि ठेक्का सम्झौता भई शिलान्यास भइसकेको छ भने अहिले मूलपानीदेखि तितौरेसम्मको खण्डमा धमाधम काम थालिएको छ ।
विक्रम संवत् २०७७ सालमा विश्व बैंक र बागलुङ नगरपालिकाबीच ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्न पाउने गरी सम्झौता भएको थियो । हाल ४३ करोड २१ लाख लागतमा आशिष/फेवा जेवीले सडक निर्माणको काम गरिरहेको छ । आगामी २०८२ असार १५ गतेसम्म सडक निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको नगर प्रमुख (मेयर) वसन्तकुमार श्रेष्ठले जानकारी दिए । हाल बागलुङ नगरपालिका–७ को मुलपानीदेखि तितौरेसम्म साढे ८.६ किलोमिटर, ओडारचौरदेखि ढोडेनीसम्म साढे २ किलोमिटर र गणेश घुम्तीदेखि निरयघाटको डेढ किलोमिटर सडक कालोपत्र गर्न थालिएको उनले जानकारी दिए ।
‘१ वर्षभित्रै काम सक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाउनुभएको छ, नगरभित्रका सबैभन्दा ठूलो लगानीमा बन्न थालेको ३ सडकले बानपालाई समृद्धिको यात्रामा थप अगाडि बढाउनेछ,’ श्रेष्ठले भने, ‘यस्तो अनुदान देशभरका १७ नगरपालिकाले मात्रै पाएका छन् । हामीले देशभरमै पहिला काम सुरू गरेका छौं ।’
३ वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले शहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सडक कालोपत्र गर्न थालिएको बागलुङ नगरपालिकाका इन्जिनीयर दीपेन्द्र भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सडक ५ दशमलव ५ मिटरदेखि ९ मिटरसम्म चौडा हुनेछन् । निर्माण व्यवसायीले सडक चौडा पार्ने, कालोपत्र र ढलान गर्ने, नाली निर्माण गर्ने, पर्खाला लगाउने, फटपाथ निर्माण गर्ने, कजवे र कल्भर्ट निर्माण गर्ने, फर्निसिङ र स्ट्रिट लाइटसहित सडकको सौन्दर्यकरण गर्नेछ ।