बैतडी । जिल्लामा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बैतडीले अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी प्रवक्ता खेमविक्रम केसीले सचेतना अभिवृद्धि र कारबाही प्रक्रियालाई सँगसँगै अगाडि बढाइएको बताए । उनले गत फागुन ११ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने २५ जनालाई कारबाही गरिएको जानकारी दिए ।
उनीहरूबाट जनही १०० रुपैयाँ जरिवाना समेत गरिएको उनले बताए ।
गत माघमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) भीमकान्त शर्मा लगायत सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधि सहितको बैठकले सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेअनुसार अभियान अगाडि बढाइएको थियो । शुभारम्भमा सचेतनाका लागि प्रचारप्रसार गरी फागुन ११ गतेबाट प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
‘लागूऔषध नियन्त्रण तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, सञ्चारमाध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ गरेर सुरुमा सचेतना अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाएका थियौं,’ प्रहरी प्रवक्ता केसीले भने, ‘सार्वजनिक स्थानमा धूम्रपान निषेधपश्चात पनि अटेरी गर्नेलाई कारबाही गरिरहेका छौं । यो अभियान प्रभावकारी बन्दै गएको छ ।’
सुरुमा धेरैले नराम्रो माने पनि पछिल्लो समय सार्वजनिक स्थलमा खुला रूपमा गर्ने ध्रम्रपानले महिला, बालबालिका तथा अन्य व्यक्तिहरूमा पर्ने प्रभावका बारेमा जानकारी दिएपछि अहिले निकै सुधार भएको केसीको भनाइ छ ।