काठमाडौं । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने ? यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् ।
विशेषतः स्थानीय सरकार अर्थात् जनप्रतिनिधि ‘छिटो र द्रुतगतिमा सेवा दिनुपर्छ, नियम–कानुन मिल्दै जान्छ’, भन्ने तर्क राख्दछन् र स्थानीय प्रशासन ‘ऐन कानुनको परिधिमा रहेरमात्र सेवा दिनुपर्छ’, भन्ने मान्यता लिन्छन् । सङ्घीयताको मर्म पनि सार्वजनिक सेवा प्रवाह गर्ने यी निकायबीचमा सहकार्य र समन्वय अतिआवश्यक हुन्छ भन्ने रही आएको बताइन्छ ।
चन्द्रागिरि नगरपालिका र काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यही दुई नेतृत्वलाई समन्वयात्मक रूपमा कसरी अगाडि बढाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउने भन्ने विषयमा नयाँ अभ्यासको थालनी गरेका छन् ।
आइतबार सार्वजानिक बिदाका दिन प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका उच्च नेतृत्व, नगरपालिकाका जननिर्वाचित नेतृत्व, प्रमुख कार्यकारी अधिकृत र विषयगत शाखा प्रमुख तथा वडासचिव सहभागी भई सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहका विषयमा खुलेर अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष, वडासचिव एवं विषयगत शाखाका प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीसँग कार्यस्थलमा आइपरेका कानुनी समस्यालाई निराकरणका उपाय सुझाउन खुलेर जिज्ञासा राख्नुभएको थियो भने प्रजिअले सहभागीले राखेका जिज्ञासालाई सटिक जवाफ दिएका थिए । अधिकांश वडाध्यक्षले नागरिकता सिफारिस र अन्य प्रमाणित गर्नुपर्ने विषयलाई प्रमुखताका साथ उठान गरेका थिए ।
कार्यक्रममा चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले सार्वजानिक सेवालाई क्रमशः विद्युतीय प्रविधि (डिजिटलाइजेन) मा रुपान्तरण गर्दै जाने नीति लिएको जानकारी दिदैँ यसले सेवा प्रभाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले भने, “नगर क्षेत्रमा नयाँ–नयाँ सुरक्षा चुनौती थपिएका छन् । यसलाई न्यूनीकरण गर्न सुरक्षा निकायसँग मिलेर काम भइराखेको छ ।
विपद् पूर्वतयारी सबै वडामा गरिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न राजमार्ग, सार्वजनिकस्थललगायत आवश्यक स्थानमा सिसी क्यामेरा जडानलाई उच्च प्राथमिकता दिइएको छ ।” प्रमुख गिरीले स्थानीय सरकार र स्थानीय प्रशासनबीचको मन्थनले समृद्ध चन्द्रागिरी बनाउने ध्येयलाई सहयोग पुग्ने र अगामी दिनमा सेवा प्रवाहमा थप प्रभावकारी आउने विश्वास व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थानीय प्रशासन र स्थानीय सरकारबीचको सहकार्य र समन्वयले सार्वजनिक सेवा प्रवाह थप चुस्त हुने र सङ्घीयतालाई बलियो बनाउन सहयोग पुग्ने बताए । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त बनाउन, सुरक्षा समन्वय गर्न र अपराध नियन्त्रणमा स्थानीय सरकार र स्थानीय प्रशासनबीचको सहकार्य र समन्वय अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा हुने यस्ता अन्तक्र्रियाले दैनिक आइपर्ने समस्यालाई हटाउन सहज हुने बताए ।