काठमाडौं । गीतकार देवी पराजुलीको शब्द रचनामा नेपाली महिलाहरूको तीज गीत 'माइत रमाइलो' सार्वजनिक भएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबीच उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको हो ।
गीतकार पराजुलीको अध्यक्षता तथा समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको प्रमुख आतिथ्यमा आयोजित भिडिओ सार्वजनिक समारोहमा विशेष अतिथिमा मधेसी आयोगकी सदस्य रेणुदेवी शाह रहेकी थिइन् ।
गायिका बिन्दु परियार र राम कार्कीको आवाज रहेको उक्त गीतमा राम कार्कीको लय तथा संगीत रहेको छ । वीरेन्द्र भाट 'विपिन'को निर्देशन तथा सम्पादन रहेको तीज गीतको मिक्सिङ कृष्ण पुनले गरेका छन् । वर्ल्डकभर मिडियाको पोस्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडिओमा महेश महराको सिनेम्याटोग्राफी र मुकेश नेपालीको कोरियोग्राफी छ । भिडिओमा अनिषा न्यौपाने, परशु बस्नेतलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
प्रेम र सद्भावको सन्देश बोकेको यस गीतको भिडिओले श्रीमान् श्रीमती तथा कर्म घरका अन्य सदस्यहरूप्रति सम्मान र प्रेम प्रकट गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
भिडिओ सार्वजनिक समारोहको संगीतकार तथा गायक सुरेश शाहीले सहजीकरण गरेका थिए भने गीतकार प्रकाश सुवेदीले गीत तथा भिडिओको समीक्षा गरेका थिए ।
उक्त समारोहमा संविधानसभा सदस्य रिमा नेपाल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार भेषराज अधिकारी, नेपाल सरकारका उपसचिव नवराज पाण्डे, गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइराला, कर्मचारी युनियनकी उपाध्यक्ष निर्मला शर्मा, साहित्यकार राजेन्द्र घिमिरे, गीतकार प्रकाश सुवेदी, गायिका सत्यकला राई, सिनेम्याटोग्राफर तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति थियो ।
निजामती कर्मचारी संगठनकी सचिवालय सदस्यसमेत रहेकी गीतकार पराजुलीका तीज गीत, राष्ट्रिय भाव, चेतनामूलक, आधुनिक गीत गरी १४ वटा गीत रेकर्ड भएका छन् भने केही गीतका भिडिओ समेत निर्माण भइसकेका छन् ।
हेर्नूस् भिडिओः