काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज देखि सुरु हुँदैछ ।
अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरू अमेरिकामा भएका थिए ।
आज पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणमा दक्षिण अफ्रिका समूह डीबाट विजेताको रुपमा रहेको थियो भने अमेरिका समूह ए को उपविजेता हो । सुपर आठको खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सर भिभिएन रिचार्ड्स स्टेडियममा हुने छ ।
दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलो पटक विश्वकप खेलेको टिम हो । यी दुई बीचको खेल पहिलो पटक हुन लागेको छ । सेमिफाइनल यात्राको लय कायमै राख्नका लागि दुवै टिमलाई जित आवश्यक छ ।
‘सुपर ८’ मा खेल्ने आठ टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ। यी आठ टोली मध्ये समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश छन्। समूह २ मा दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज र इङ्गल्यान्ड छन्। दुई समूहमा विभाजन गरिएका यी आठ टोली मध्ये दुवै समूहबाट शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।