तनहुँ । पछिल्लो पाँच वर्षको अवधिमा तनहुँमा विपद्बाट ५६ जनाले ज्यान गुमाए । बाढी, पहिरो, चट्याङबाट ८४ जना घाइते भए भने १० जना बेपत्ता छन् । विपद्बाट घर, गोठ, विद्यालय, सरकारी कार्यालय गरी एक हजार तीन सय ३५ भौतिक संरचनामा क्षति पुग्यो । त्यस अवधिमा करोडौँ मूल्यबराबरको आर्थिक नोक्सानी भयो ।
तनहुँ जिल्ला बाढीपहिरो, चट्याङजस्ता विपद्को उच्च जोखिममा छ । बाढीपहिरोबाट मात्रै २०७६ सालमा १२ जनाको मृत्यु, चार जना घाइते, २०७७ सालमा आठ जना मृत्यु, १५ जना घाइते, २०७८ सालमा चार जना मृत्यु, तीन जना घाइते, २०७९ सालमा दुई जना मृत्यु, दुई जना घाइते भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्क छ । भौतिक सम्पत्तितर्फ २०७६ सालमा रु एक करोड २२ लाख, २०७७ सालमा रु दुई करोड ९५ लाख ७६ हजार, २०७८ सालमा रु ४१ लाख ९२ हजार पाँच सय, २०७९ सालमा रु ३१ लाख ६३ हजार पाँच सय, २०८० सालमा रु ५४ लाख ३५ हजारको नोक्सानी भएको छ ।
विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति तनहुँ प्रतिकार्य योजना तयार गरी पूर्वतयारीमा जुटेको छ । विभिन्न प्रकोपका कारण सामाजिक तथा मानवीय जीवनमा आइपर्ने विपद्लाई थेग्न तथा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न आवश्यक भएकाले मनसुन, शीतलहर, आगलागी, चट्याङ, महामारी, आँधी प्रतिकार्य आपतकालीन कार्ययोजना कार्यान्वयनमा ल्याइएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
यस वर्षको बाढी पहिरोबाट तनहुँमा सात हजार प्रभावित हुन सक्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशमा यस वर्ष १५ हजार नौ सय ६९ घरधुरीका ७० हजार प्रभावित हुने आँकलन गरिएकामा तनहुँमा यस वर्ष पहिरालाई पहिलो जोखिमको रुपमा राखिएको गौतमले बताए ।
सन् २०१० देखि २०२० सम्म गृह मन्त्रालयको तथ्याङ्कको आधारमा २०८१ सालको मनसुनबाट प्रभावित हुनसक्ने जनसङ्ख्या करिब १२ लाख ५० हजार रहेको छ । उनले भने, “यस वर्षको मनसुन जेठ अन्तिम साताबाट सुरु भई असोजको दोस्रो सातासम्म रहने गरी जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विपद्को क्षति न्यूनीकरणका लागि हामी तयारी अवस्थामा जुटेका छौँ ।”
जिल्लाका चार नगरपालिका र छ गाउँपालिका पहिरोको उच्च जोखिममा छन् । पहिरोपछि बाढी, आगलागी, महामारी, सुख्खा खडेरी, सडक दुर्घटना र चट्याङ तथा हावाहुरी छन् । प्रतिकार्य योजनामा उल्लेख भएअनुसार जिल्लाका दश पालिकाका ८५ वडामध्ये ४८ वडा पहिराका जोखिममा छन् ।