काठमाडौं । काठमाडौं महागरपालिकाले आफ्नो मातहत भएको सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरले असार ३० गते सम्पन्न भएको नगरसभाबाट सामुदायिक विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने प्रस्ताव पारित गरेको हो। नगरसभाले भइरहेको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ ।
नगरसभाले पारित गरेपनि उक्त निर्णय हालसम्म प्रमाणीकरण नभएको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।
नगरसभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प्रमाणीकरण गर्ने चलन छ । नगरसभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ। प्रमाणीकरण भएको भोलिपल्टदेखि नै पुरानो समिति स्वतः भङ्ग हुने भएर वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने छन् ।
महानगरमा ८९ वटा सामुदायिक विद्यालय छन् भने ३२ वटा वडा छन्। नयाँ व्यवस्था अनुसार व्यवस्थापन समिति गठन भएको अवस्थामा एकै वडाध्यक्षले थुप्रै विद्यालयको व्यवस्थापन समिति सम्हाल्नुपर्ने हुन्छ ।
नगरसभाले विव्यस भङ्ग गर्ने निर्णय गरेसँगै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा हालका व्यवस्थापन समितिका पदाधिकारीले असन्तुष्टि जनाएका छन् ।
वर्तमान समिति भङ्ग गरेर वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गर्ने व्यवस्थाले विद्यालयमा प्रतिगमन भित्रिन लागेको र यसले आफूहरूलाई समेत समस्यामा पार्ने भन्दै उनीहरूले सङ्गठित रूपमा विरोध गर्ने तयारी गरेका छन् । सोही तयारीस्वरूप सामुदायिक विद्यालयका शिक्षकले हालै मात्र नेपाल शिक्षक महासङ्घको काठमाडौँ महानगर समितिसमेत गठन गरेका छन् ।
वडाध्यक्षलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय गरेर महानगर आफैँले विद्यालयभित्र राजनीति प्रवेश गराउन खोजेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको आरोप छ ।