काठमाडौं । ४ किलो ५०४ ग्राम लागूऔषध कोकिनसहित ४ विदेशी नागरिक पक्राउ परेका छन् ।
उनीहरूलाई केही दिनको अन्तरमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको छ ।
तान्जानियन नागरिक ६८ वर्षीय डोनाल्ड ज्याक्सन, बोलिभियन नागरिक ३३ वर्षीया लवरा क्रज टिकोना, भेनेजुलियन नागरिक ३९ वर्षीय सिमोन एन्टेनियो र भारतीय नागरिक २७ वर्षीया लालरुत सेंगी पक्राउ परेको ब्यूरोले जानकारी दिएको छ । ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित होटलबाट डोनाल्डलाई १ किलो २०६ ग्राम कोकिनसहित जेठ २७ गते पक्राउ गरिएको थियो ।
फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई १८ वटा क्याप्सुल कोकिनसहित पक्राउ गरिएको छ ।
अनुसन्धानका क्रममा उनले कोकिनका क्याप्सुलहरू निलेर काठमाडौं आएको खुलेपश्चात नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएकोमा थप ५९ क्याप्सुल निकालिएको उनले जानकारी दिए । डोनाल्डबाट जम्मा ७७ वटा क्याप्सुल (१ किलो २०६ ग्राम) कोकिन बरामद गरिएको हो । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
यसैगरी ब्राजिल हुँदै काठमाडौं आएकी लवरा क्रज टिकोनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगामा भएका बटनभित्र लुकाइ राखिएको २ किलो १०० ग्राम कोकिनसहित जेठ ३० गते पक्राउ गरिएको आचार्यले जानकारी दिए ।
कतार एयरको उडानद्वारा नेपाल आएका सिमोनलाई काठमाडौं महानगरपालिका–२६ स्थित होटलबाट ९२ वटा क्यासुलबाट १ किलो १९८ ग्राम कोकिनसहित असार ४ गते प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनले क्याप्सुलहरू ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र ल्याएको खुल्न आएको छ ।
कोकिनका क्याप्सुलहरू ‘डेलिभरी’ गर्ने क्रममा भारतका लालरुत सेंगीलाई समेत सोही स्थानबाट पक्राउ गरिएको बिहीबार ब्यूरोले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सेंगीले कोकिनका क्याप्सुलहरू भारतको नयाँदिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेकाहरूमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही अघि बढाइएको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जानकारी दिएको छ ।