काठमाडौं । झापा चिया उद्योगका श्रमिक आन्दोलित बनेका छन् । झापा र इलामका चिया बगानमा कार्यरत करिब ७० हजार श्रमिक उचित पारिश्रमिक नपाएको भन्दै उद्योगीविरुद्ध आन्दोलित भएका हुन् ।
शनिबार नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गतको झापाको बर्ने चिया वगानमा चिया श्रमिकहरूले उद्योगीविरुद्ध नाराबाजी गरेका छन् ।
श्रमिकहरू महंगी बढेको आधारमा ज्याला वृद्धि गर, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर, पत्ती डबली वृद्धि गर, मजदुर आन्दोलन जारी छ, मजदुर एकता जिन्दावाद, हाम्रो माग पूरा गर भन्ने नाराका साथ आन्दोलनमा उत्रिएका छन् ।
आइतबारसम्ममा आफ्ना माग पूरा गर्न उद्योगी तथा सरकारलाई चेतावनी दिएको श्रमिकहरूले भनाइ छ ।
श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला रु पाँच सय ७७ पाउने उल्लेख छ तर, चिया बगान र प्रतिष्ठानले ज्यालाबापत रु चार सय ३७ मात्र दिइरहेका मजदुरहरूको भनाइ छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र निकट मजदुर संगठनहरूले उक्त आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।