विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छ : राष्ट्रपति पौडेल

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताएका छन् । 

विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिएवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरे । 

संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष हामी ‘आफू र समाजका लागि योग’ भन्ने  नाराका साथ विश्व योग दिवस मनाइरहेका छौँ ।

 राष्ट्रपति पौडेलले योग शारीरिक अभ्यास मात्र नभई  निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने  वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो  भन्दै योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । 

“यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने,  आन्तरिक उर्जा प्राप्त  हुनेर आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ । योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डोर्‍याउँछ । साथै, योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले हाम्रा योग गुरुहरू र अध्येताका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्ने बताए ।  भौतिक विकास गरी सुख प्राप्त गर्ने आकाङ्क्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्था छ ।

“नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका प्राचीन भवन, शहर, ढुङ्गेधारा, कुवा, इनार र राजकुलोहरूको  निर्माणमा पनि योग विज्ञान एवम् वास्तु शिल्पको प्रयोग गरिएको देखिन्छ । साथै, हाम्रा मठमन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव रहेको छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।