जननायक, महामानव आदि विशेषण र कार्यकर्ताहरूले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए । नेपालका राष्ट्रिय राजनीतिमा उनीभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिएको छैन ।
उनलाई मूर्धन्य नेताहरुले पनि आफ्नो नेता मान्ने गर्दथे । जुन उच्च मान्यता आजतक कायमै छ । नेपालको राजनीतिमा सबैभन्दा धेरै शब्द खर्चिएका र अन्तर्राष्ट्रिय राजनेताका रुपमा उनको नाम आउँछ । चीनमा राष्ट्रिय स्वाधीनता तथा एकता जनतन्त्र र समाजवादको लागि डा सनयात सेनको र भारतमा सर्वोदय नेता जयप्रकाश नारायणको जुन राजनीतिक स्थान छ, बिपी त्यही स्तरको नेता थिए ।
विश्वेश्वरप्रसादको राजनीतिक जीवन त्यतिबेला भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो । उनी भारतीय स्वतन्त्रता संग्राममा पनि सेनानी थिए । भारतबाट ब्रिटिस शासन नहटेसम्म नेपालमा उसद्वारा पालित पोषित राणा शासन ढल्न र प्रजातन्त्रको नयाँ युग आउन कठिन हुने हुँदा भारतीय स्वतन्त्रता संग्रामलाई नेपालमा लोकतन्त्र स्थापनाको आधार मानेका थिए । आफ्ना पिता कृष्णप्रसाद कोइरालाको जेलमै निधन हुँदा उनी भारतको हजारीबाग जेलमा राजबन्दी थिए ।
आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उनका दाजु मातृकाप्रसाद कोइरालालाई वि.सं १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो । यसपछि नै उनको राजनीतिक जीवनको सुरुवात भएको थियो । भारतीय राजनीति र समाजमा पनि उनको गाढा प्रभाव थियो । भारत प्रवासमा रहेकै बेला भारतको परिवर्तन देखेर उनले नेपालमा पनि परिवर्तन ल्याउने प्रयास गरे । वि.सं २००३ मा उनले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए भने २००६ सालमा उनकै पहलमा नेपाली कांग्रेस पार्टी बनेको थियो ।
वि.सं २००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको थियो । जसलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भन्ने भनिन्छ । २००७ सालमा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरु गरेका थिए ।
सोही वर्ष राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । तात्कालिक समयमा देशमा रहेको जहानीयाँ वा एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो ।
व्यापक अध्ययन, चिन्तन तथा ठोस विश्लेषण, व्यवहारमा उदारता तथा निर्णयमा अडान, कर्तव्यको पुकारमा ज्यानको बाजी लगाएर भएपनि संघर्षमा होमिने आँट, मानवीय जीवनका साथै जनताका भावना र आवश्यकता बारे तीक्ष्ण तथा सुक्ष्म दृष्टिकोण बनाउन सक्ने कला, दार्शनिक पक्षमा गहिरो ज्ञान, संघर्षले दिएको अनुभवबाट बनेको दुर्धर्ष आत्मबल, अपरिग्रहयुक्त जीवनशैली आदि उनको व्यक्तित्वका ज्वलन्त विशेषता थिए ।
उनले दक्षिण एसियाको अवस्थितिमा नेपालकोअस्तित्व, पार्टी र जनताका बीच कार्यकर्ताको भूमिका, जातीय विविधता भएको समाजमा राजनीतिक नेताको भूमिका, मुलुक गरिब तथा शोषित जनसमुदाय भएको अवस्थामा राष्ट्र नै लाभान्वित हुने खालको आर्थिक विकासका लागि राजनीतिक दल र नेताहरुले निर्वाह गर्नुपर्ने भूमिका जस्ता विषयमा उनले कार्यकर्ताहरुलाई निरन्तर प्रशिक्षित गरिरहन्थे । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसका आधारभूत सिद्धान्तका रुपमा स्थापित गराउने सर्वोच्च सिद्धान्तकार नेता उनी नै थिए ।
सत्तामा उनी २००७ सालमा आठ महिना गृहमन्त्री र २०१६ सालमा साढे एक वर्ष प्रधानमन्त्री रहेका थिए । उनले बाँकी सम्पूर्ण जीवन लोकतन्त्र प्राप्तिको संघर्षमै लगाए । त्यसक्रममा उनले राणाशाही बिरुद्ध जेलभित्रैबाट आमरण अनशन गरे । वि.सं २००७ सालको जनक्रान्ति, २०२५ सालपछि २०३३ सालसम्म सशस्त्र आन्दोलनको पनि उनले नेतृत्व गरेका थिए ।
वि.सं २०१४ सालको भद्रअवज्ञा आन्दोलन वा २०३६ सालको विद्रोह तथा तत्कालीन राजालाई जनमत संग्रहको घोषणा गर्नुपर्ने परिस्थितिमा पु¥याउने राजनीतिक कार्यमा उनको ऐतिहासिक योगदान छ । उनी यथास्थितिवादी राजनीतिका एक नेता भएर होइन, राजनीतिको गतिलाई मोड्न सक्ने, तार्किक टुंगो दिनसक्ने र हर राजनीतिक परिस्थितिलाई प्रजातन्त्र अनुकूल बनाउन सक्ने अद्भूत क्षमता र व्यवहारमा कुशलता भएका अन्तराष्ट्रिय स्तरको राजनेताका रुपमा सुपरिचित भए ।
वि.सं २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलाप तथा एकताको सन्देश बोकेर उनी, गणेशमान सिंह, शैलजा आचार्यलगायत नेपाली कांग्रेसको एउटा ठूलै समूह आठ वर्ष लामो निर्वासित जीवन त्यागेर पटनाबाट काठमादौं आए । त्यसबेला उनी र गणेशमानजीमाथि आठवटा संगीन आरोपसहितका मुद्धा लगाइएको थियो । एउटै मुद्धामा हार्दा पनि उनीहरुको ज्यान जान सक्दथ्यो । मुलुकभरि पञ्चहरूबाट उनीहरुलाई फाँसीको सजायको माग राख्दै बक्तत्व प्रकाशित, विन्तीपत्र टक्र्याउने, प्रस्ताव पारित गर्नेजस्ता गतिविधि अनवरत भइरहे । त्यसकारण कांग्रेसका नेताहरूलाई मार्नु पञ्चायती शासकको चरित्र नै थियो ।
पञ्चायती शासनको मुख्याती प्रजातन्त्रको शिविरमा यस कारणले पनि थियो कि त्यसबेला नेपाली कांग्रेसका लोकप्रिय, होनहार तथा प्रभावशाली नेताहरूलाई छानीछानी मार्ने षडयन्त्र बारम्बार भइरह्यो । यसमा योगेन्द्रमान शेरचन, सरोज कोइराला, दिवानसिंह राई, तेजबहादुर अमात्य आदि परे ।
सिक्किमबाट नेपाल आई झापामा वसोवास गरिरहेका एउटा युवालाई तत्कलीन अञ्चलाधीशले रिभोल्भर दिएर निर्वासनमा रहेका बीपीको हत्या गर्न वनारस पठाएका थिए । तर त्यो षडयन्त्रको पर्दाफास भएपछि भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको उक्त युवालाई वीपीले नै क्षमता दिएर रिहा गरिदिन आग्रह गरे र उक्त युवा रिहा भए । पछि त्यो युवा पत्रकारितातिर लागेको थियो ।
वि.सं २०३६ मा जनमत संग्रहको सिलसिलामा स्याङ्जा पुगेका बीपीलाई मार्ने असफल प्रयास भएको थियो । उनलाई हानिएको गोली स्याङ्जाकै कांग्रेस कार्यकर्ता तारापति कोइरालाले छेकेर बीपीलाई बचाए । बिपीलाई हानिएको गोली तारापतिजीको घुँडामा लागेको थियो । हत्याको प्रयास र फँसीको मागका बीच वीपीले आफूमाथि लागेका सबै मुद्धाको डटेर सामना गरे ।
यस क्रममा उनले अदालतमा दिएको सात घण्टा लामो बयान आज पनि विद्वत समुदायमा चासो र खोजीको विषय भइरहेको छ । त्यसलाई अदालती वयानको अनुभव उदाहरण मानिन्छ । उनको स्वदेश आगमनले मुलुकमा यति ठूलो उत्साह र प्रभाव सञ्चार ग¥यो कि निर्विकल्प, माटो सुहाउँदो आदि विशेषण दिइएको पञ्चायतलाई साढे दुई वर्षभित्रैमा बहुदलको पक्षबाट जनअदालत (जनमत संग्रह) को कठघरामा उभ्याउन सफल भए ।
राजनीतिमा बिपी कोइरालाका रुपमा संक्षिप्त नामले चिनिने उनी साहित्यमा पूरा नाम विश्वेश्वरप्रसाद कोइरालाबाट लोकप्रिय थिए । आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भन्ने बिपी मनोवैज्ञानिक साहित्य लेखनमा विश्वस्तरीय रचनाकार थिए । उनले उपन्यास, कथा, निबन्धका करिब एक दर्जन कृति लेखिसकेका छन् । साथै, आत्मवृत्तान्त, जेल जर्नल, फुटकर लेख रचनाहरूको संगालो आदि पुस्तकहरू पनि प्रकाशित भएका छन् । नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए । राजनीतिक आग्रह वा त्यसका छायाँ र प्रभाव उनले साहित्यमा प्रवेश गराएनन् ।
उनको जन्म भारतको बनारसमा १९७१ भदौ २४ गते भएको थियो । न्वारानको नाम चूडामणि भएपनि विश्वनाथ मन्दिरको तीर्थस्थलमा जन्म भएको हुनाले उनको नाम विश्वेश्वरप्रसाद राखियो । एउटै पिताका तीन छोराहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरण उनको परिवारमा बन्यो । घाँटीमा आएको क्यान्सरका कारण उनको आवाज आउन छाडेको थियो । उनी सासले मात्र बोल्थे । आफ्नो मृत्यु टाढा छैन भन्ने यकिन भएपछि उनले भाइ गिरिजाबाबुलाई एकदिन भनेछन् “अब म उपचार गरेर बाँच्ने होइन । म स्वदेशमै मर्न चाहन्छु । यहाँबाट(बैंकक) मलाई नेपाल लगिहाल ।”
उनकै आग्रहमा २०३९ साउन ६ गते भेन्टिलेटरमा अक्सिजनसहित बेहोस अवस्थामा साँझ ६ बजे काठमाडौं ल्याइपु¥याइयो तर त्यसको एक घण्टा पनि नबित्दै उनको निधन भयो । भोलिपल्ट साउन ७ गते उनको अन्त्येष्टि विशाल जन समुदायको उपस्थितिमा भएको थियो । प्रजातन्त्रको पुर्नस्थापना भएपछि उनका नाममा धरानमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुरमा क्यान्सर अस्पताल, काठमाडौंमा आँखा अस्पताल, बनेपा–सिन्धुली–बर्दिवास राजमार्गको नामकरण गरिएको छ । भारतको पटनामा उनको पूर्णकदको शालिक र एउटा सडकको नाम बिपीमार्ग राखिएको छ । आज हामीबीच उनी छैनन् तर उनले देखाउनु भएको राजनीतिक दर्शन र सिद्धान्त नयाँ पुस्ताका लागि मार्गदर्शन बनेको छ ।
(उल्लेखित लेखका लेखक नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी रहेका छन् ।)