काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख बराबरको मात्रै निर्यात गरेको हो ।
विभागका अनुसार ११ महिनामा नेपालले कूल १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा यो १ दशमलव ९५ प्रतिशतले कम हो ।
गत आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा कूल १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा आयात १ दशमलव ८४, निर्यात ३ दशमलव १ र वैदेशिक व्यापार घाटा १ दशमलव ७२ प्रतिशतले घटेको छ ।
जेठ मसान्तसम्ममा नेपालले भारतसँग मात्र ८ खर्ब १३ अर्ब ७८ करोड २९ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भारतसँग ९ खर्ब ८ अर्ब २९ करोड ९२ लाखको आयात हुँदा ९४ अर्ब ५१ करोड बराबरको मात्रै निर्यात भएको छ ।
अर्को छिमेकी मुलुक चीनसँग ११ महिना अवधिमा २ खर्ब ७० अर्ब ४० करोड व्यापार घाटा देखिएको छ । चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोडको आयात हुँदा २ अर्ब ४० करोड ९८ लाख बराबर निर्यात देखिएको छ ।
बढी व्यापार घाटा देखिएका मुलुकको सूचीमा युनाइटेड अरब इमिरेट्स तेस्रो नम्बरमा छ । यूएईसँग २८ अर्ब ४८ करोड २५ लाखको आयात र २ अर्ब ४२ करोड ८३ लाखको निर्यात हुँदा कूल २६ अर्ब ५ करोड ४२ लाख बराबरको व्यापार घाटा देखिएको छ ।
नेपालको वैदेशिक व्यापारमा सबैभन्दा नाफा अफगानिस्तानसँग देखिएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा अफगानिस्तानबाट १ करोड १६ लाख ९० हजार बराबरको आयात हुँदा ४० करोड ३४ लाख ९७ हजार बराबर निर्यात भएको छ । अर्थात् नेपालले अफगानिस्तानसँगको व्यापारमा ३९ करोड १८ लाख ७ हजार बराबर फाइदा गरेको छ ।
नर्वे, सुडान, आइसल्यान्ड, मौरिसस लगायतका मुलुकसँगको व्यापारमा पनि नाफा देखिएको छ ।