म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत हिलापोखरीमा सिँचाइ आयोजना निर्माण गरेको हो ।
उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले ३६० मिटर लामो पक्की नहर निर्माण गरिएको जानकारी दिए । ‘च्युरीबोटस्थित घट्टेखोला हुँदै पच्चिस मुरेसम्म ३४९ मिटर लामो पक्की नहर बनाउने लक्ष्य रहेकोमा सोभन्दा बढी बनाएका छौं,’ उनले भने, ‘गत वैशाख महिनादेखि थालिएको नहर निर्माणको काम यसै हप्ता सकिएको हो ।’
योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको छ । आयोजनामार्फत पक्की नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ ।
उपभोक्ता समितिका सचिव फिरोज घर्ती मगरले स्थानीय मजदुर परिचालन गरेर सिँचाइ आयोजना निर्माण गरेको जानकारी दिए । २० घरधुरीभन्दा बढी कृषकको २०० रोपनी बढी खेतबारी र बगैंचामा सिँचाइ गर्न सहज भएको छ । यसअघि खोल्साको पानी कच्ची नहरबाट बगाउदा चुहिने र भासिने समस्या थियो । सिँचाइ अभावमा आकाशे पानीको भरमा एक बाली मात्र लगाउने गरिएको थियो ।
सिँचाइ सुविधा भयो भने बाह्रै महिना खेती लगाउन सकिने भएको छ ।
खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालू आर्थिक वर्ष म्याग्दीमा ६० सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए । बादुक र घारेनी कोत्रवाङ सिँचाइ आयोजनाको बहुवर्षीय ठेक्का आह्वान गरेको र अन्य आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको बताए ।