काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शनिबार स्वदेश फर्किएका छन् ।
बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए ।
स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला शहर केन्द्रित बसाइँसराइँको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक–फरक ठाउँका शहरहरूको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।’
निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयरल राउण्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’मा शहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा धारणा राख्दै ठूला शहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र शहर जीवनयापनका सुविधाहरू नजिक रहेका शहरहरूमा पुर्याएर, ठूला शहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्ने बताएका थिए ।
‘बसाइँसराइँले शहरी चाप बढ्ने मात्र होइन, गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ,’ उनले भने ।
नीति बहस शहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत थियो । बहसमा ठूला महानगरका मेयरहरू सहभागी थिए ।
शहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलका मुख्य विषय छन् । बैठकमा शहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।
मेयर शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरूको आबद्धता रहेको आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।