झापा । जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोड नगरपालिकाले ६ वर्षको अवधिमा सडक पूर्वाधारको विभिन्न योजना सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स विछ्याउने, पुल, कल्भर्ट बनाउने काम जारी रहेको बताइन् । उनका अनुसार ६ वर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।
नगरमा २८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ । ‘हामीले सुरुमा सडक, पुल, कल्भर्ट जस्ता भौतिक पूर्वाधारको कार्यलाई प्राथमिकतामा राखेर काम गर्यौं,’ उनले भनिन्, ‘अबको हाम्रो लक्ष्य शिक्षा, स्वास्थ्य र कृषिलाई अघि बढाउने भन्ने छ ।’
नगर क्षेत्रमा १८४ ठूला साना कल्भर्ट, २७ किलोमिटरमा पेवर्स तथा ब्लक बिछ्याउने काम भएको छ । सो अवधिमा विपन्न समुदायका लागि ५३७ आवास निर्माण गरिएको पालिकाका योजना अधिकृत जयप्रसाद तिम्सिनाले जानकारी दिए । उनका अनुसार पालिकाले ३ वटा झोलुङ्गे पुल, ८ वटा फलामे पुल र २३४ किलोमिटर क्षेत्रमा तटबन्धन गरेको छ भने खानेपानीका लागि ६ हजार ३८० मिटरमा पाइपलाइन विस्तार गरेको छ ।
आगामी ५ वर्षभित्रमा प्रदेश र संघीय सरकारसँगको समन्वयमा डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासकीय भवन, डोमालाल रंगशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङ सहितको व्यावसायिक भवन निर्माणको लक्ष्य लिइएको छ । नगरपालिकाले सुविधासम्पन्न नगर अस्पताल निर्माण गरेर सेवा दिइरहेको छ ।