काठमाडौं । यहि साउन १५ गतेबाट बुटवल उपमहानगरपालिकाले सडक सरसफाइ तथा वृक्षरोपण अभियान थाल्ने भएको छ । ४५ दिने यस अभियानमा मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने कार्यक्रम रहेको छ ।
चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रमअन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यकरणका लागि उपमहानगरले एक करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘एक घर, तीन रुख’ कार्यक्रमका लागि १२ लाख र रात्रीकालीन बजार सञ्चालन तथा व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र विरुवा रोपिने उपमहानगर प्रमुख खेलराज पाण्डेयले जनाएका छन् । पाण्डेयका अनुसार नगरस्तरीय अभियान मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरू सरसफाइका लागि प्रत्येक महिना नियमित रुपमा सञ्चालन हुनेछ । नगरस्तरीय अभियानबाहेक वडास्तरमा प्रत्येक शनिबार र आवश्यकताअनुसार अभियानकै रुपमा सञ्चालन हुनेछ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले यस अभियानका लागि बुटवल उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयंसेवी संस्थाहरु, क्लबहरुलाई आह्वान गरिएको जनाएका छन् ।
बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्न चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्नेसम्म योजना रहेको प्रमुख पाण्डेयले जनाएका छन् ।