काठमाडौं । सिन्धुपाल्चोक र आसपासका जिल्लाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएको छ । कूल २२०र१३२ केभी क्षमताको सबस्टेसनमा एक सय ६० एमभिए, एक सय ३२र११ केभी र पाँच एमभिएका पावर ट्रान्सफर्मर रहेका छन् ।
ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमा चार सय केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन अवस्थामा छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको एक सय दुई मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ । मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने विद्युत् प्राधिकरणले जनाएको छ ।
निर्माण सम्पन्न भएको मध्यभोटेकोसीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षण गर्ने क्रममा सुरुङबाट पानी चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत आगामी भदौ दोस्रो साताभित्र ९अगस्ट० सक्ने लक्ष्य राखी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
घिसिङसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार सबस्टेसन, प्रसारण लाइन र मध्यभोटेकोसीको सुरुङ मर्मत कार्यको अनुगमन गरी तोकिएको समयभन्दा अघि सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे। कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेकाले मध्यकोटेकोसीबाट उत्पादित विद्युत् प्रवाहका लागि समस्या नरहेको उल्लेख गरे ।
“सबस्टेसन तयार गर्न नसक्दा मध्यभोटेकोसीको विद्युत् जोड्न नसकिने हो कि भन्ने अवस्था थियो, अब २२० केभीे सबस्टेसन निर्माण सम्पन्न भइसकेपछि आयोजनाको विद्युत् जोड्न विभिन्न विकल्प तयार भएका छन्, चुहिएको सुरुङ मर्मतका लागि पनि केही समय लाग्ने देखिएको छ, त्यसैले अब प्रसारण लाइन तथा सबस्टेसन अभावमा आयोजनाको विद्युत् खेरजाने अवस्था छैन”, उनले भने।
मध्यभोटेकोसीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत्गृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावर निर्माण गरिसकेको कार्यकारी निर्देशक घिसिङले बताए । प्रसारण लाइनको करिब दुई किलोमिटर तार तानिएको छ । बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न नसकेको उनको भनाइ छ ।
मध्यभोटेसीको विद्युत् प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरिएको छ । कूल दुई सय २० केभी क्षमताको प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर प्रवाह गरिने प्राधिकरणले जनाएको छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाएर बाह्रबिसे सबस्टेसनमा लगिनेछ ।
सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।