काठममाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले 'जहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्ली’ प्राणालीको शुभारम्भ गरेको छ । जिफन्टको ३४ औं स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक समारोहकाबीच राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठले 'जिफन्ट एक्सन रूम' मार्फत संसारभरीका श्रमिकहरूसँग सम्पर्क गर्ने डिजिटल प्रणाली शुभारम्भ भएको घोषणा गरेका हुन् ।
अनामनगरस्थित जिफन्ट ट्रेड यनियन स्कुलमा स्थापना गरिएको एक्सन रूमबाट संसारभरका श्रमिकहरुलाई लक्षित गरी बैठकहरु, शिक्षाका कार्यक्रमहरु, दिवस तथा समारोहहरु मनाउने र विश्वको जुनसुकै कुनामा रहेका श्रमिकहरूसँग दोहोरो सम्वाद गर्न सकिने छ ।
अध्यक्ष श्रेष्ठका अनुसार अब एप्स, वेभसाइट, अत्याधुनिक कल सेन्टर जस्ता सूचना प्रविधिको प्रयोग गरी मजदुरका गुनासा र समस्यालाई सम्बोधन गर्न जिफन्ट सक्षम रहेको छ ।
स्थापना दिवसको अवसरमा भर्च्युअल सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय विकास निर्माणको बजेट कटौतीले गर्दा रोजगारीहरू खोसिँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले आन्दोलन र सिबिए मार्फत आर्जन गरेका होटेल सेक्टरको १० प्रतिशत सर्विस चार्ज अदालतको आडमा श्रमिक वर्गसँग कुनै सरसल्लाह नगरी खारेज गरिदिएकोमा आपत्ति जनाए ।
'श्रमिकको अधिकार र योगदानमा आधारित सामाजिक सुरक्षामा गर्नुपर्ने योगदान छल्न पार्टटाइमर, आउट सोर्सिङ, तालिमे तथा श्रम स्विकृती नभएका विदेशी कामदारको संख्या बढ्दो छ' उनले सम्बोधनमा बताए ।
श्रेष्ठले वास्तविक ट्रेड युनियनहरूलाई छायाँमा पार्न नक्कली युनियनहरूको खेती हुँदै गएकोमा सचेत रहन समेत आग्रह गरे । जिफन्टलाई ‘भरोसायोग्य युनियन आन्दोलनको जन्म दिने’ ट्रेड युनियनको रुपमा गर्वका साथ लिने र त्यसलाई व्यबहारमा पुष्टि गर्ने प्रतिवद्दता व्यक्त गर्दै श्रमिकको हक र हितका लागि गरि आएका कामहरुलाई अझ उन्नत गर्दै यो कार्यकालमा जिफन्टको 'कायाकल्प' गर्ने लक्ष्य रहेको बताए ।
हेर्नुहोस् सम्बोधनको पूर्णपाठ
नेपाल ट्रेड यूनियन महासंघ ३४औं स्थापना दिवसको सन्दर्भमा अध्यक्ष विनोद श्रेष्ठको मन्तव्य यसप्रकार रहेको छ :
मूलुकमा पूर्ण लोकतन्त्र स्थापना गर्दै सम्पूर्ण श्रमिकहरुको ट्रेड युनियन हक अधिकार प्राप्ती, संरक्षण र विकास गर्दै समाजको आर्थिक सामाजिक रुपान्तरणको लक्ष्यका साथ पञ्चायती कालरात्री भित्र २०४६ साल श्रावण ५ गते स्थापना गरिएको नेपाल ट्रेड युनियन महासंघको ३४औं स्थापना दिवसको उपलक्ष्यमा स्वदेश र संसारभर छरिएका नेपाली श्रमिकहरू प्रति शुभकामना व्यक्त गर्दछु ।
यो महाअभियानमा आफ्नो जीवन आहुती गर्नु हुने महान सहीदहरू प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु । बलिदानीपूर्ण यस सङ्घर्षहरू र कार्यक्षेत्रमा घाइते बनाइ\एका, पेशा र काम गुमाउनु भएका, जेल जीवन व्यतित गर्नु भएका तमाम अगुवा ट्रेड युनियनकर्मीहरुप्रति पुनः भावपूर्ण स्मरण गर्दै श्रध्दा र सम्मान प्रकट गर्दछु ।
हामी जिफन्टलाई ‘भरोसा योग्य युनियन आन्दोलनको जन्म दिने’ ट्रेड युनियनको रुपमा गर्वका साथ लिने गर्दछौं । र व्यवहारमा समेत पुष्टी गरेका छौं । यो दावीलाई सरकार, राजनीतिक दल सहितका अन्य सरोकारवालाहरूको साथै आइएलओ लगायतका अन्तर्राष्ट्रिय मित्रहरुले पनि स्विकारेका छन् । ती हाम्रो आन्दोलनमा साथ र ऐक्यवध्दता प्रदान गर्ने सबै निकायहरूसँग पनि शुभकामना आदानप्रदान गर्दछु ।
ट्रेड युनियन केवल राजनीतिक पेशागत सामाजिक कानुनी र आर्थिक आन्दोलन मात्र हैन । यो मानवीय र वर्गीय आन्दोलन हो । यो मूल्यमा आधारित स्वयमसेवी आन्दोलन पनि हो । त्याग, समर्पण निरन्तरता तथा एकापसमा सहयोग यसको आदर्श हो । यस प्रसङ्गमा हामी हाम्रो आफ्नै गर्वको इतिहासलाई यसरी सम्झन सक्छौं ।
२०३५/३६ सालमा दोस्रो पुस्ताको ट्रेड युनियन आन्दोलन सुरु गरौं भनेर अगाडी बढ्दा हामीसङ्ग श्रमिक वर्गका लागि मर्न पनि तयार हुने भावनाभन्दा अरु के थियो र ? पञ्चायतकालिन कालरात्रीका मतियारहरूको विरोध गर्दा होस वा सङ्गठन निर्माण गर्दा, जागिरबाट निकालिँदा वा प्रहरी प्रशासनबाट चर्को दमनमा पर्दा समेत अविचलित रुपमा निरन्तर सङ्गठनमा लाग्नु बाहेक हामीसङ्ग के थियो र ?
२०३६ देखि २०४६ सम्मको एक दशकमा सङ्गठन निर्माण र परिचालनका लागि हामीसङ्ग चाहिने आवश्यक कुनै पूर्वाधार थिएन । आर्थिक रुपमा कमजोर स्थितिलाई मजबुत बनाउन पटक पटक खेत खन्ने, धान काट्ने, कामदेखि लिएर जनताका घरमा देउसी भैलो कार्यक्रमहरु, मे दिवसमा आर्थिक सङ्कलन देखि प्रचारका लागि बनाइएका पोस्टरहरू १ रुपैँयामा बेच्ने, भूमिगत शैलीमा सांस्कृतिक कार्यक्रम गरेर वा बाटोमा जकात उठाएर आर्थिक संकलनको काममा लाग्ने त्यो बेलाका हाम्रा नेताहरूले आकाशमुनी बिताएका कैयौं त्रासपूर्ण तथा साहसी रातहरु यहि आन्दोलन निर्माणका लागि थिए । थुप्रै संघर्ष बलिदानका वावजुद पनि तत्कालिन नेतृत्वको सम्बृध्द मजदुर वर्गको सपना साकार पार्न ट्रेड युनियन आन्दोलन मजवुत बनाउने एउटै लक्ष्य थियो।
२०४३ सालको मई दिवसमा एकीकृत ट्रेड युनियन आन्दोलनको लागि महासङ्घ बनाउने सपना पनि पञ्चायती सत्ताले चकनाचूर पारिदियो । तथापि कहिल्यै हार नखाने नेतृत्व वर्गको बहादुरीपूर्ण अठोटको कारण उक्त सपना २०४६ सालमा आएर हामीले पूरा गर्यौँ ।
२०४६ साल श्रावण ५ गते जीफन्ट स्थापना गर्दा ट्रेड युनियन आन्दोलनले देखेका सपना पूरा गर्न पनि हामीसङ्ग केबल सुन्दर सपना बाहेक केहि भौतिक सम्पती के नै थियो र ? आ-आफूसङ्ग जे जे छ, त्यहि त्यहि समर्पण गरेर बलियो ट्रेड युनियन आन्दोलन निर्माणमा जुटेका हामी नै हौं । हामीलाई लाग्छ, हाम्रो आन्दोलनको त्यो नै सबैभन्दा सुखद, सुन्दर र गौरवमय पक्ष्य थियो ।
आज हामीसङ्ग आफ्नै भवन गाडी सुविधा सम्पन्न कार्यालयहरू, कार्यकर्ताहरूलाई सानै भए पनि केहिे रकम, कार्यालय सञ्चालनमा कर्माचारीहरू, नियमित प्रशिक्षणका सामाग्री सहितका सुविधाहरू छन् । यी सबैको आधार हिजोको हाम्रा तिनै लगानीका प्रतिफलहरू हुन् । तर आजको परिस्थिति र हिजो तपाईं हाम्रोबिच रहेका सामाजिक सांस्कृतिक र वर्गीय हार्दिकता माथि खिया लाग्दैछ कि भन्ने भान भइरहेको छ । समाजको साथै हाम्रो पनि वर्ग रुपान्तरण हुँदैछ । आत्मकेन्द्रित प्रवृत्ती बढ्दो छ । हामीले अन्त गर्ने भनेर कसम खाएको विविध प्रकारका उच नीचको व्यवहार कुनै न कुनै रुपमा प्रकट हुँदैछ । एकापसमा ख्याल गर, एक अर्कालाई माया गर भन्ने संस्कृति माथि कतै ह्रास आएको त हैन ? हाम्रो बुझाइमा यस अवधीमा थपिएका जटिलताहरू यस्तै प्रवृतीसँग जेलिएको छ ।
साथीहरु, जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनमा हामीले श्रमिकको हक र हितका लागि गरि आएका कामहरुलाई अझ उन्नत गर्दै यो कार्यकालमा “जिफन्टको कायाकल्प” गर्ने लक्ष्य लिएका छौं । त्यसका लागि काम, ज्याला र स्वच्छ कार्यथलो, तालिमेलाई तलब, स्थानीय तहमा अनौपचारिक श्रम क्षेत्रको सूचीकरण, न्यून आयलाई मध्यम आयतिर हुँदै सम्पन्नतातिर लाने अभियान, सहकार्य योगदान र सहभागिता गर्दै सामाजिक सुरक्षामा २ मिलियन कार्यक्रमहरु अगाडि सारेका छौं । त्यसैगरी अर्गनाइजिङ एकेडेमीको प्रभावकारी सञ्चालन, ट्रेड युनियनहरु बिच थप सार्थकताका साथ विविधतामा एकता, सीमापारीको काममा विस्तार र प्रभावकारिता, महिला सशक्तिकरण, युवा सहभागिता र समसामयिक एजेण्डाहरुमा थप संलग्नतालाई कार्यक्रमको रुपमा निर्णय गरेका छौं । हाल यिनै कार्यक्रमहरुमा ध्यान केन्द्रित गरेर जिफन्ट अघि बढिरहेको छ । यी कार्यक्रमहरूको पहिलो वर्षका उपलब्धी र शिक्षाहरुको समीक्षा गर्दै यहि महिना दोस्रो वर्षको लागि वार्षिक कार्ययोजना तयार गरेर अगाडी बढ्दैछौं ।
जिफन्टले ‘जहाँ श्रमिक त्यहाँ जिफन्ट’ भन्ने नाराका साथ स्वदेश र विदेशमा छरिएर अनेक खालका श्रम गरिरहेका श्रमिकहरूलाई गोलबन्द गर्ने विशाल लक्ष्य लिएकोमा हाल आएर सूचना र प्रविधिको अभूतपूर्व विकासले त्यो सम्भावनाको द्वार खोलिदिएको छ । त्यसैले उक्त नारालाई हामीले ’जहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्ली’ भनेर विकास गरेका हौं । अर्थात जिफन्टले आजबाट सुरु गरेको यो एक्सन रुमबाट, संसारभरका श्रमिकहरूलाई लक्षित गरी बैठकहरू, शिक्षाका कार्यक्रमहरू, दिवस समारोहहरू मनाउने छौं ।
विश्वको जुनकुनै कुनामा रहेका साथीहरूसँग दोहोरो सम्वाद गर्नेछौं । यस अन्तर्गतको पहिलो कार्यक्रम आगामी शुक्रबार कतारमा जिएसजिमा संगठित रहेका श्रमिकहरूलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछौं । त्यसैगरी जिफन्ट एप्सको प्रयोग विस्तार गरी सदस्यता नविकरण, भेरिफिकेसन आदि सम्पूर्ण कामहरू अघि बढाउदैछौं । त्यसपछिको चरणमा श्रम गुनासो, मुद्दा, समस्याका सूचनाहरुलाई तत्काल सम्बोधन गर्नको लागि अत्याधुनिक प्रविधियुक्त कल सेण्टरको सञ्चालन गरिनेछ । यसरी एक्सन रुम, कल सेण्टर , वेबसाइट, समाचार, एप्सलाई जोड्दै बदलिएको श्रम संसारमा जिफन्टको “जहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्ली” नारालाई प्रभावकारी ढङ्गले साकार बनाउनेछौं ।
हाम्रो अध्ययन र अनुभवमा विकास निर्माणको बजेट कटौतीले गर्दा रोजगारीहरू खोसिँदै छन् । आन्दोलन र सिबिए मार्फत आर्जन गरेका होटेल सेक्टरको १० प्रतिशत सर्विस चार्ज अदालतको आडमा श्रमिक वर्गसँग कुनै सरसल्लाह बेगर खारेज गरिदिएको छ, श्रमिकको अधिकार र योगदानमा आधारित सामाजिक सुरक्षामा गर्नुपर्ने योगदान छल्न पार्टटाइमर, आउट सोर्सिङ, तालिमे तथा श्रम स्विकृती नभएका विदेशी कामदारको संख्या बढ्दो छ ।
अन्तर्राष्ट्रिय मान्यता र गन्तव्य मुलुकको कानुन अनुसारको कामदारको लागि निशुल्क भिसा, टिकटको प्रवन्ध हुनुपर्नेमा वर्तमान सरकार श्रमिकसँग असुली गर्न पाउने बाटो खोजी भइरहेको बुझिएको छ । वास्तविक ट्रेड युनियनहरूलाई छायाँमा पार्न नक्कली युनियनहरूको खेती हुँदैछ । श्रम ऐन २०७४ जारी गर्दा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन सहित जति बढी सामाजिक सुरक्षा त्यति नै श्रम लचकताको भावनाका साथ गरिएको थियो । तर अहिले योगदानमा आधारित सामाजिक सुरक्षाको अनिवार्यताको सट्टा श्रम लचकताले ल्याएको श्रम ऐनका दफा १४५ लाई प्रयोग गरी श्रमजीवी वर्गलाई बेरोजगार बनाउँदैछ । विभिन्न बहानामा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई प्वाल पार्ने काम भएको छ । यसबाट श्रमिकहरु पिडित हुनुपरेको छ । यस वर्षको असार मसान्तमा निर्णय गरेर श्रावण १ गते देखि अनिवार्य लागू गर्नु पर्ने न्यूनतम वेतन हालसम्म निर्णय नगरी सरकार कानमा तेल हालेर सुतेको छ ।
त्यसैले यो वर्षको मे डे मा हामीले “हाम्रा अधिकारहरु खोसिदैछन्, संगठित बनौं, प्रशिक्षित हौं, परिचालित होऔं र अधिकारको लागि हस्तक्षेप गरौं” भन्ने उदघोष गरेका थियौं । त्यसयता सोही अनुसारको कार्यक्रमहरु अगाडी सारेका छौं ।
यी सबै चरणहरूमा यो एक्सन रुम साधक हुने हामीले अपेक्षा गरेका छौं ।
अन्तमा गरी खाने वर्गको जीवन र जिफन्टका सबै सपना र योजनाहरू साझा हुन्, तमाम उपलब्धीहरू संसार बदल्ने हाम्रा दृष्टिकोण र अडानहरू तथा हजारौं श्रमिक साथीहरुको त्याग बलिदान र निरन्तरको अथक मेहनतबाट प्राप्त भएका हुन् । यो महाअभियानमा हातेमालो गर्ने मित्रहरूको साथ सहयोग बिर्सने छैनौं । यसलाई अझ उचाईमा पुर्याउनका लागि यो ३४ औं जिफन्ट स्थापना दिवसको उपलक्ष्यमा मुलुक र संसारभर छरिएर रहनुभएका सम्पूर्ण साथीहरुलाई बधाईका साथ शुभकामना व्यक्त गर्दै मेरो भनाई टुग्याउँछु ।