लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।
उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा चालूतर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमान सहितको बजेट तथा कार्यक्रम पेश गरेकी हुन् ।
उपमहानगरले आगामी आवमा आन्तरिक स्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संशाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको बताइन् ।
उपमहानगरले वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरिएको अर्यालले बताइन् । सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत बुटवल–११ मा १०० बेडको अस्पताल स्थापनाका लागि ५ करोड छुट्याएको छ । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड, नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन १ करोड बजेट विनियोजन गरिएको पनि उल्लेख छ ।
बजेटमा बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने, ज्येष्ठ नागरिक लक्षित बाआमासँग नगर प्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तरगत गर्भवतीलाई निःशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ ।
शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसंख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम ल्याएको र शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड छुट्याइएको र ‘छोरी पढाऔं, समाज बनाऔं’ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले २५ लाख रुपैयाँ छुट्याएको पनि अर्यालले उल्लेख गरिन् ।
उपमहानगरले विद्यार्थीसँग नगर प्रमुख, बालबालिकासँग उपप्रमुख र एक विद्यार्थी एक बैंक खाता कार्यक्रम र विद्यालय खाजा कार्यक्रमअन्तर्गत १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई खाजा खुवाउने विद्यालयमा १० थप गरी २५ गराउने जस्ता नयाँ कार्यक्रम बजेटमा समावेश गरेको छ । यस वर्ष लुम्बिनी बस टर्मिनलमा विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाइफाइ, सुरक्षित विश्रामस्थल निर्माण गर्न १ करोड र उज्यालो बुटवल कार्यक्रमअन्तर्गत बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि ४ करोड बजेट विनियोजन गरिएको छ ।
मुख्य राजमार्ग, भित्री सडक सौन्दर्यीकरण, ट्राफिक लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन् । बजेटमार्फत जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयजस्ता स्थानलाई नगरको गौरव सम्पदाका रूपमा प्रवर्द्धन गर्ने भनिएको छ । जितगढी किल्ला नजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि ३ करोड बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन् ।
बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ । बुटवलदेखि नुवाकोट जाने पैदल मार्ग निर्माणका लागि १ करोड, पैदलमार्गमा शिवमूर्ति निर्माणका लागि १ करोड र हिलपार्कमा बुद्धमूर्ति निर्माणका लागि १ करोड बजेटमा समावेश छन् ।
बुटवलदेखि लुम्बिनी जोड्ने, मुक्तिनाथ, बाँके बर्दिया, आसपासका पर्यटकीयस्थलहरू जोड्ने र बुटवल–चितवन–पोखरा त्रिकोण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने, रात्रीकालीन बजार सञ्चालनमा विपन्न वर्गलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा देखिने कार्यक्रमका रूपमा रहेका छन् ।
बुटवललाई रोजगार र स्वरोजगारका स्थापित गर्न गृहिणी महिलालाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि ३ करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन् ।
बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका वासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकासका कार्य गर्न बुटवलले २ करोड छुट्याएको छ ।
मुख्य चोक, चौराहामा विश्राम चौतारी, फल्चा, परम्परागत प्रतिक्षालय निर्माणका लागि २ करोड, छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी संरचना, विश्रामस्थल, ध्यान केन्द्र, योग केन्द्र निर्माणका लागि १ करोड ५० लाख छुट्याएको बजेटमा उल्लेख छ । वडाहरूको समग्र विकासका लागि १६ करोड ५० लाख तथा बुटवल वडा नम्बर १४ देखि १९ का ६ वडालाई १–१ करोड विशेष विकास कार्यक्रममार्फत खर्च गर्ने गरी व्यवस्था गरिएको छ ।
बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चारग्राम स्थापना गर्ने, किसानलाई पाडी वितरणमा अनुदान दिने, परम्परागत सीप आरन खरिद तथा सञ्चालनमा अनुदान दिने कार्यक्रम समावेश छन् । खेलकुदमा बुटवल १६ डहरगाउँमा क्रिकेट मैदान निर्माण गर्न १ करोड र बुटवल–१३ को जवई खेलमैदान जाने सडक निर्माण गर्न १ करोड छुट्याएको बुटवलले आगामी आर्थिक वर्षमा मेयर कप फूटबल, उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ ।
खेलाडी उत्पादनका लागि खेलाडीलाई छात्रवृत्ति, प्रशिक्षण खर्च तथा पारिश्रमिक दिने र नगरको खेलकुद टोली निर्माण गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको तिलोत्तमा गोल्डकप फूटबल प्रतियोगिता सञ्चालनका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।