बेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घर खर्च जोहो गर्दै आएका छन् ।
दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेकी छन् । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुन्छिन् । ‘आजभोलि लुगा सिउने मशिनले कपडा सिउँदा निकै सजिलो भएको छ । परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ,’ उनले भनिन्, ‘कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्षणका लागि टेवा पुर्याउन सकेकोमा खुशी लाग्छ ।’
रानाथारु समुदायले लगाउन अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोशाक तयार पार्ने गरेको उनले बताइन् । ती कपडामा फूलजस्तै देखिने फुर्का लगाउनुपर्छ । आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गरेकी छन् । ‘आमासँग लुगा सिलाउने सिकें । अहिले त्यहीँ सीपले गुजारा चलेको छ । एक जोर लुगा तयार गर्न १ महिनाभन्दा बढी समय लाग्छ,’ उनले भनिन्, ‘लुगा आफैंले ल्याएर तयार गरेको ८ हजार लिन्छौं । हामीले नै लुगा किनेर तयार पारेको पहिरनको २० हजारसम्म लिने गरेका छौं ।’
डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोशाक बनाउने काम सक्रिय छिन् । सानैमा आमा र हजुरआमाबाट उनले पहिरन सिलाउने सीप सिकेकी हुन् । तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उनी बताउँछिन् । ‘हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो । हातले बनाउनेबाट अहिले मशिनको प्रयोग हुन थालेको छ । यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छ,’ उनले भनिन्, ‘वर्षमा १० जोर लुगा सिलाउँछु । बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ ।’
पहिरन बनाउन गाउँकै मानिस उनको घरमा आउने गर्छन् । पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ । ‘बेलौरीमा खोजेकोजस्तो सबै सामान पाइँदैन । महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्छ,’ उनले भनिन्, ‘सितारा, ऊनी धागो, विभिन्न रंगका कपडा बढी मात्रामा आवश्यक पर्छ ।’