काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल हुनेछ ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।
विनियोजन विधेयक २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।
गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने लगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१’ सभासमक्ष पेश गर्ने कार्यसूची छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।