काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलद्वारा मकवानपुरका ११ घरपरिवारलाई जग्गा धनीपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
जिल्लाको बकैया-५ का ११ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । बकैया-५ को राजदमार स्थित वडा कार्यालयमा आज आयोजना भएको एक कार्यक्रमबीच जम्मकट्टेलले पुर्जा वितरण गरेका हुन् ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले जग्गाधनी पुर्जा प्राप्त गरेका हुन् । बकैया-५ का शुक्रबहादुर बुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार विक, शुसिला विश्वकर्मा, बाबुलाल थिङ, कमलबहादुर थिङ, हस्तबहादुर थिङ र लक्ष्मण थिङले पूर्जा प्राप्त गरेका हुन् । उनीहरूलाई ३४० वर्ग मिटर क्षेत्रफलको जग्गा पूर्जा वितरण गरिएको हो ।
राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार कान्छीमाया पुलामीले ३३८.२७२ वर्गमिटर र विनोद वाईवाले १५०.५२ वर्गमिटर क्षेत्रफलको जग्गा प्राप्त गरेका हुन् ।
गत असार १३ गतेको आयोगको निर्णय अनुसार उनीहरूले पुर्जा प्राप्त गरेका हुन् ।
वडा कार्यालयका अनुसार वडामा लगत संकलन भएका ६४ घरपरिवार मध्ये ११ घरपरिवारले मात्रै पुर्जा प्राप्त गरेको र बाँकीको प्रक्रियामा रहेको छ ।
कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेल, प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।