काठमाडौं । नेपाली सेनाको संख्या घटाउने वा नघटाउने भन्ने विषयमा नेता–नेताबीच चर्को बहस भइरहेको छ । देशको अर्थतन्त्रले धान्न नसक्ने भन्दै कुनै नेताले नेपाली सेनाको संख्या घटाउने तर्क गर्छन् भने केही नेताले नेपाली सेनाको संख्या घटाउन नहुने तर्क गर्छन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले गत ५ असारमा प्रतिनिधिसभाको बैठकमा नेपाली सेनाको संख्या घटाउनुपर्ने तर्क गरे।
रास्वपा सांसद डा. वाग्लेले श्रीलंकामा एकतिहाइले सेनाको संख्या घटाएको उदाहरण दिँदै नेपालमा ९० हजार सेना आवश्यक नरहेको तर्क गरेका थिए ।
उनले भनेका छन्, ‘सेनाको आफ्नै सुधार योजना सुन्न भनेर अघिल्लो दिन प्रधान सेनापतिसँग भेट गरेको बताउँदै ‘सुरक्षा फौज र कर्मचारीतन्त्र’ राजनीतिक सहमति नै गरेर अप्रिय नै सही एउटा ठुलै कदम चालेनौं भने हामी दुर्घटनाउन्मूख छौं ।’
यस्तै, नेकपा एमालेकी सांसद विमला राई पौड्यालले पनि सेनाको संख्या घटाउनु पर्नेमा जोड दिदैँ आएकी छन् ।
उनले असार १६ गते राष्ट्रियसभामा बोल्दैँ भनेकी छन्, ‘हाम्रो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयलाई यति धेरै (८० हजार कि ९० हजार कति) सेना चाहिन्छ कि चाहिँदैन ? पुनरावलोकन गरौं । हाम्रो देशभित्र अहिले लडाइँ छैन, अनि छिमेकीबाट लडाइँ हुने सम्भावना देखिँदैन । भनेपछि ८०÷९० हजार सेना हामीलाई चाहिन्छ कि चाहिँदैन ? यही प्रस्तावसहित मैले आफ्नो खर्च कटौतीको प्रस्ताव राखेको हुँ’। यो सामाचा राजधानी दैनिकमा छापिएको छ ।