काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने २ जना बेपत्ता छन् ।
प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराईले ती घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिए । उनले विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको जानकारी दिए । प्राधिकरणबाट बुधबार साँझ प्राप्त विवरणअनुसार पहिरोबाट ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
चट्याङबाट ५ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । बाढीबाट १ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । एक घाइते छन् ।
डा. भट्टराईले ओखलढुंगाको चिसंखुगढी गाउँपालिका सेर्नाथुम्कीमा गएको पहिरोमा परी घाइते भएका २ जनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको बताए । प्राधिकरणका अनुसार विपद्ले बुधबार ओखलढुङ्गा, संखुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको छ ।