जनकपुरधाम । केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ ।
असार लागेसँगै जिल्लाका कतिपय किसानले मल बिना नै धान रोपाइँ गरिरहेका छन् । यो समस्या प्रतिवर्ष जस्तै रहेको भन्दै हालसम्म समाधान नभएको किसान बताउँछन् ।
सङ्घीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरसँग मल प्रयाप्त मात्रामा भए पनि किसानलाई उपलब्ध हुन नसकेको मनोहर यादवले गुनासो गरे । उनका अनुसार असार लागेसँगै कतिपय किसानले मलबिना नै रोपाइँ गरिरहेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि असारको पहिलो सातासम्म रु २४ करोड ४१ लाख ७३ हजार पाँच सय ५० बराबरको ९३ हजार तीन सय ३९ मेट्रिकटन मल बिक्री गरेको जनाएको छ ।
रु नौ करोड ३३ लाख ७६ हजार एक सय ३० बराबरको पाँच हजार पाँच सय १३ मेट्रिक टन युरिया, रु १६ करोड ४३ लाख ४५ हजार बराबरको तीन हजार पाँच सय ७२ मेट्रिकटन डिएपी, रु ५७ लाख ८१ हजार सात सय मूल्य बराबरको एक सय ७० मेट्रिकटन पोटास तथा रु छ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिकटन चुन बिक्री गरिएको कार्यालयका प्रबन्धक बेचनकुमार महतोले जानकारी दिए ।
उनका अनुसार वर्षेबालीका लागि कार्यालयसँग युरिया दुई हजार दुई सय ६२ मेट्रिकटन, डिएपी एक सय १४ मेट्रिकटन तथा पोटास ९७ मेट्रिकटन मौज्दात रहेको छ । “धानखेतीका लागि आवश्यक पर्ने मल पर्याप्त अवस्थामा रहेको छ भने मल आउने क्रम जारी छ”, उनले भने ।
यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराइँने भन्दै मलको समस्या नरहने प्रबन्धक महतोले बताए ।