काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीले अघि सारेको समाजवादी कार्यक्रम आसन्न महाधिवेशनमा अनुमोदन हुने बताएका छन् ।
पार्टी निकट युवा संघ नेपालद्वारा बिहीबार आयोजित कार्यक्रममा उनले मुलुकको संकटको सामना गर्ने गरी समाजवादी कार्यक्रम बनाइएको बताए ।
श्रमजीवि युवाहरू पलायन भइरहेको अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरू एकजुट हुनु जरुरी रहेको बताउँदै नेता खनालले लोकतान्त्रिक, देशभक्त र समाजवादी दृष्टिकोणलाई स्थापित गर्न युवाहरूण् एकताबद्ध भएर क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।
समाजवादले मात्र विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समाधान गर्नसक्ने विचार व्यक्त गर्दै उनले भने, ‘हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ । समाजवादको यात्रालाई तीव्र र व्यापक पार्नु जरुरी छ ।’
पार्टीका महासचिव घनश्याम भुसालले सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समाधान समाजवाद भएको उल्लेख गर्दै सम्पूर्ण युवा, आम क्रान्तिकारी जनतालाई गोलबद्ध गरी समाजवादको सुन्दर भविष्यतिर आफ्ना प्रचार केन्द्रित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
संगठन र संघर्षलाई समाजवादी दिशामा अगाडि बढाउनुपर्ने बताउँदै उनले भने, ‘यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने महत्त्वपूर्ण नारालाई दृढतापूर्वक समातौं, समाजको प्रधान अन्तर्विरोधलाई प्रतिनिधित्व गर्ने समूहप्रति निशाना केन्द्रित गरौं ।’