काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ पुस्तामा घर बेचेरै भए पनि विदेश जाने लहर चलेको धारणा व्यक्त गरेकी छन् ।
प्रा.डा. सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन समारोहमा शुक्रबार आयोजित कार्यक्रममा उनले पछिल्लो समय युवामा कक्षा १२ पढेपछि जसरी पनि विदेश जाने मानसिकता हावी भएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘विद्यार्थीमा मात्रै होइन, अभिभावकमा पनि छोराछोरीलाई जसरी भए पनि विदेश पढाउने हुटहुटी चलेको छ, तर पहिले यस्तो थिएन ।’ उनले प्रा.डा. सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ पठनीय भएको भन्दै पुस्तकमा समेटिएका विषय मननयोग्य भएको उल्लेख गरिन् । विक्रम संवत् २०१२ सालदेखि अहिलेसम्म कति ठूलो परिर्वतन आयो, पहिले र अहिलेको पढाइको अन्तर पुस्तकमा समेटिएको उनको भनाइ थियो ।
लेखक प्रा.डा. केसीले ५० लाखभन्दा धेरै जनसंख्या देश बाहिर रहेको अवस्थामा मुलुकमा संकट आए कसले बचाउने भन्दै प्रश्न गरे । उनले यी विषय पनि पुस्तकमा समेटिएको उल्लेख गरे ।
उनले भने, ‘मैले विभिन्न विषय समेटेर यो पुस्तक लेखेको छु, विचार के हो ? सिद्धान्त के हो ? पुस्तकमा समेट्ने प्रयास गरेको छु ।’
पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता भीम रावलले प्रा.डा. केसीको पुस्तक युवा पुस्ताका लागि उपयोगी भएको भन्दै शुभकामना दिए । पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनी, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धर, सविता बस्नेत केसी, चिकित्सक सुन्दरमणि दीक्षितले प्रा.डा. केसीको पुस्तक ‘स्मृति र अनुभूती’बारे धारणा राख्दै शुभकामना समेत दिए ।