धरान । धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।
मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आउनुभएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आएका छन् । “केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु । यहाँ पहिलो पटक आएकाले चार वटा खसी मात्र ल्याएको छु”, उनले भने, “साना खसी रहेकाले जोडीको रु १५ हजारमा बिक्री गरिरहेको छु ।” उनका अनुसार अहिले फार्ममा १६ वटा खसी छन् ।
धनकुटा सागुडीगडी–७ का किसान ममता राईले धरानस्थित कृषि बजारमा खसी, बोका बिक्री गर्न सधैँ आउने गरेको सुनाए । खसी, बोका बिक्रीबाट वार्षिक रु छ लाखभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए । पशुपालन पुख्र्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइएको राईले बताए । “घाँसभन्दा अन्न र दाना बढी खुवाउने गरेकी छु । घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि प्रशस्त नाफा हुने गरेको छ”, उनले भने।
मोरङको कानेपोखरीबाट व्यापारी चन्द्र खड्का प्रत्येक साता कृषि बजारमा खसी, बोका किन्न आउछन् । एक सयदेखि एक सय ५० वटासम्म खसी, बोका किनेर लैजाने गरेको उनले जानकारी दिए । “यहाँबाट किनेका खसी, बोका जिल्ला बाहिर निर्यात गर्दै आएको छु । यसरी खसी, बोका खरिद गरी बिक्री गर्न थालेको २३ वर्ष भइसकेको छ”, उनले भने
काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरूवा पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्री गर्ने गरेको खड्काले सुनाए। उनका अनुसार सबै खर्च कटाएर मासिक रु ७० हजारसम्म नाफा हुने गरेको छ ।