काठमाडौं । बैंकर्स राजनसिंह भण्डारीको सपना, संघर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा ‘आफैंलाई नियाल्दा’ कृति विमोचन गरिएको छ ।
पूर्व मन्त्री शरदसिंह भण्डारी, प्रा.डा. एवं सांसद चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावल, वरिष्ठ चिकित्सक लोकविक्रम थापा, वरिष्ठ पत्रकार प्रकाश रिमाल र पूर्व बैंकर्स खेमबहादुर भण्डारी लगायतले संयुक्त रूपमा कृति विमोचन गरेका हुन् ।
मिनेट मिडिया प्रालि प्रकाशक रहेको त्यस कृतिमा पुर्खा र परिवारिक पृष्ठभूमि, बाल्यकाल र प्रारम्भिक शिक्षा, त्यो मधेश, त्यो औरही, मेरा सोख र स्वभाव, राष्ट्र बैंकमा २६ वर्ष, बैंकर्स संघको अध्यक्ष, गीतको दुनियाँमा मौसुफ भण्डारी र पारिवारिक कलह लगायत शीर्षकमा भण्डारीका स्वाभिमानी आत्मकथा समेटिएको छ ।
तेह्र परिच्छेद रहेका पुस्तकमा चालिसभन्दा बढी उनी र भण्डारी परिवारसँग जोडिएका तस्वीर समेत समेटिएको छ । सो अवसरमा पूर्व मन्त्री भण्डारीले हक्की स्वभावका लेखकले आफूले–आफैंलाई एउटा सफल व्यक्तित्व बनाएको जीवन सम्बन्धी आत्मकथा कृतिमा समेटिएको बताए ।
जीवनको यात्रालाई अघि बढाउने सिलसिलामा परिवारिक सहयोग, शक्ति र समर्थन आवश्यक पर्ने बताउँदै उनले पुस्तक प्रकाशित नगर्ने प्रत्येक व्यक्तिका पनि आ–आफ्नै खाले आत्मकथा हुने उल्लेख गरे ।
सांसद कार्कीले असल प्रशासक, व्यवसायी, बैंकर्स र गायक भण्डारीको कृतिमा स्वाभिमानी गुण र अद्भूत आत्मप्रेमका विषयवस्तु समेटिएको बताए । पूर्व गभर्नर डा. रावलले राष्ट्र बैंकको नेतृत्वमा रहँदा लेखकलाई आफूले व्यावसायिकता मिसिएको एउटा हक्की र दूरदर्शी व्यक्तित्वको रूपमा पाएको घटना सुनाए ।
त्यस अवसरमा डा. लोकविक्रम थापा र पूर्व बैंकर्स खेमबहादुर रायमाझीले युवापुस्ताका लागि प्रेरणा प्रदान गर्ने सरल भाषामा लेखिएको कृतिभित्र विधि स्थापित गर्न र कानून पालनामा लेखक कति कठोर भए भन्ने नालीबेली समेटिएको बताए ।
शिवचन्द्र स्मृति प्रतिष्ठान आयोजक रहेको कार्यक्रममा प्रकाशक रिमालले पुस्तकमा लेखकका सवल पक्ष मात्र होइन, कमी–कमजोरी पनि खुलेरै प्रस्तुत गरेको बताए । उनले भने, ‘सामान्यतः परिवारिक कलह आत्मकथामा पढ्न नपाइने अध्याय हो, जुन यहाँ छ ।’