काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् कानून बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताएका छन् ।
६६औँ संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना तथा सङ्घीय संसद् सचिवालयको समन्वयमा आज आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन र कानून कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिए ।
“कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरुरी छ”, सभामुख घिमिरेले भने । संसद्मा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उनले आफैले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्नसकेमा महत्त्वपूर्ण हुने बताए ।
पूर्वसांसद मञ्चले समय समयमा आफ्ना महत्त्वपूर्ण धारणा सार्वजनिक गर्दै आएको र त्यो राज्यका लागि हितकर भएको सभामुख घिमिरेको भनाइ थियो । पहिलो संसद्देखि अहिलेसम्म गरेका कामको महत्त्वपूर्ण सामग्रीको अभिलेखिकरण गर्ने काम गरिरहेको उनले जानकारी दिए । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्ने स्थान संसद् नै भएकाले जनतासँग निर्वाचनमा गरेका वाचा पूरा गर्न सधैँ लाग्नुपर्नेमा जोड दिए ।
“संविधान कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो, त्यसको कार्यान्वयन कानुनबाट हुन्छ”, उनले भने, “कानुन बनाउने निकाय संसद् हो, सांसद पनि सधैँ त्यतिकै गम्भीर हुनुपर्छ ।” सदनलाई गतिशील बनाउन सदा क्रियाशील हुनुपर्ने र त्यसका लागि सांसद र पूर्वसांसद दुवैको उत्तिकै योगदान रहने अध्यक्ष दाहालले बताए ।
उपसभामुख इन्दिरा रानाले सदनलाई प्रभावकारी बनाउन सांसद र पूर्वसांसद मिलेर विचारविमर्श गर्नुपर्ने तथा आवश्यक विज्ञ चाहिएमा पूर्वसांसदको ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिए ।