मकवानपुर । सुक्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौंडा दुग्ध वितरण आयोजनाको दूध संकलन प्रभावित भएको छ ।
आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२–२३ हजार लिटरसम्म दूध संकलन गर्दै आएको थियो । सोही अवधिमा विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर दूध पठाउँदै आएको थियो ।
हाल दैनिक ६ हजार लिटर दूध संकलन गर्ने गरेको छ । संकलित दूध वीरगञ्ज, हेटौंडा र भरतपुरका उपभोक्ताले दैनिक ४ हजार लिटर खपत गर्ने गरेको आयोजनाले जनाएको छ ।
मधेश प्रदेशको सर्लाही, बारा, रौतहट, पर्सा र बागमतीको मकवानपुर समेत गरी करीब २०० दूध उत्पादक सहकारी संस्थाबाट आयोजनाले दैनिक दूध खरिद गर्दै आएको छ । आयोजनाले तराईका ४ जिल्ला र बागमतीको मकवानपुर गरी करीब १२ हजार कृषकबाट दैनिक ६ हजार लिटर दूध खरिद गरी मासिक १ करोड ५० लाख रकम भुक्तानी दिने गरेको हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख राजिव खनालले जानकारी दिए ।
आयोजनाले दैनिक १ हजार लिटर दही, १ हजार किलो घ्यू, १ हजार ५०० किलो मखन उत्पादन गर्छ । लालमोहन, पेडा र रसवरी ६०० किलो उत्पादन गर्दै आएको छ । उत्पादित दही, घ्यू, मखन र मिठाईहरू आयोजनाले हेटौंडा, वीरगञ्ज र भरतपुरका उपभोक्तालाई बिक्री गर्ने गरेको आयोजनाले जनाएको छ ।
हेटौंडा दुग्ध वितरण आयोजनाले बागमती प्रदेशको दूध विकास बोर्ड हेटौंडालाई धुलो दूध उत्पादन गर्न २ देखि ३ दिनको अन्तरमा २ हजार लिटर दूध पठाउने गरेको छ । बोर्डलाई दूध नपठाइएको दिनमा २ हजार लिटर दूध आयोजनाले दही, मखन, घ्यू उत्पादनका लागी खपत गर्दै आएको आयोजना प्रमुख खनालले जानकारी दिए ।
तराईमा वर्षात भएसँगै केही दिन पछिबाट दूध उत्पादन वृद्धि हुने आयोजनाको भनाइ छ ।