काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताएका छन् ।
दशौं राष्ट्रिय महाधिवेशनलाई आईतबार सम्बोधन गर्दै उनले अहिले पनि लोकतन्त्र खतरामा रहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीले लोकतन्त्रको रक्षा तथा मुलुकको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । उनले पार्टीमा रहेका अनुभवी नेताहरूले आगामी दिनमा राष्ट्रिय राजनीतिमा सही दिशानिर्देश गर्नुपर्नेमा जोड दिए ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनवादी र समाजवादी क्रान्तिबारे जानकारी दिँदै राष्ट्रको विकास तथा सुशासनका लागि सबै दलहरूले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आमजनता र नेतृत्वका बीचमा मत फरक भएपछि समस्या आउने गरेको धारणा राख्दै दलहरू जनताप्रति जवाफदेही हुनुपर्ने विचार व्यक्त गरे ।
रोजगारी वृद्धि गर्न, शिक्षा, सहकारी लगायतका राष्ट्रिय समस्या समाधानमा सबै दल एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईले हजारौं सहिदको बलिदानबाट प्राप्त अहिलेको व्यवस्थालाई कमजोर हुन नदिनुपर्ने बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमाथि स्वेच्छाचारी, कमिसन, भ्रष्टाचार बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्न संविधान संशोधन गर्नुपर्ने विचार व्यक्त गरे ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले लोकतान्त्रिक आन्दोलनमा एकीकृत समाजवादीका नेताहरूको ठूलो योगदान रहेको बताउँदै समाजवादी आदर्श अवलम्बन गर्ने नेताहरूले सोहीअनुरूप आचरण सरल बताउनुपर्ने बताए ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विशेष परिस्थितिमा गठित पार्टीले देश र जनताको सेवामा क्रियाशील रहन सुझाव दिए । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रन्जिता श्रेष्ठले सम्पूर्ण राष्ट्रको विकास तथा जनताको समृद्धिका लागि पार्टीभित्र नयाँ वैचारिक दृष्टिकोण महाधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधिनता बलियो बनाउन सबै दलहरूबीच सहमतिको खाँचो औंल्याए । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले जनताको सामाजिक आर्थिक रूपान्तरणका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।