काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली क्रान्ति मौलिक चरित्रको रहेको बताएका छन् ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आईतबार अखिल नेपाल महिला संघले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय राजनीति र जनताको बहुदलीय जनवाद’ (जबज) विषयक विचार गोष्ठीमा उनले विश्वमा भएका राजनीतिक क्रान्तिको चरित्रलाई नेपाली क्रान्तिले आत्मसात गरेको बताए ।
महासचिव पोखरेलले लोकतन्त्रलाई लोकतान्त्रिक ढंगबाट अगाडि बढाउन नसक्नु आजको समस्या रहेको उल्लेख गरे । सामाजिक सञ्जालबाट लोकप्रियता प्राप्त मान्छेले राजनीतिमा आएर राजनीतिलाई विकल्प दिन्छौं भन्ने गलत भाष्य स्थापित हुन खोजेको उनको भनाइ थियो ।
उनले क्रान्तिबाट नभई शान्तिपूर्ण र वैधानिक तरिकाबाट समाजवादमा पुग्न सकिने बताए । उनले भने, ‘हामी फटाफट समाज बदल्ने बाटोमा जाँदैनौं र जान सक्दैनौं । जाँदा क्रान्ति र सामाजिक परिवर्तनसँगै जान सकेन भने प्रतिक्रान्ति हुन्छ ।’
महासचिव पोखरेलले जबजले देखाएको बाटो पछाडि परेका वर्ग र क्षेत्रका पक्षमा रहेको स्पष्ट पारे । जबजले रेखांकन गरेको कुरालाई कम चर्चा गर्दा समाजको रूपान्तरणको प्रक्रिया बन्द भएकोे उनको भनाइ छ । उनले राजनीतिक परिवर्तनले निर्माण गरेको उत्पादन सम्बन्धलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन् ।
उनले स्पष्ट दिशानिर्देश गर्ने राजनीतिक दलले मात्र नेपाली समाजको रूपान्तरण गर्ने बताए । अहिले बनेका संयुक्त सरकारले पनि समाज रूपान्तरण गर्न नसक्ने उनको धारणा छ । मदन भण्डारी फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जबजले समाजमा रहेका बेथितिलाई समाधान गर्दै समाजलाई समानतामा आधारित बनाउन भूमिका खेल्ने बताए ।
अनेमसंघका अध्यक्ष टुका हमालले पार्टीको मार्गदर्शन सिद्धान्तको रूपमा रहेको जबजले महिलाका अधिकार सुनिश्चित भएको स्पष्ट पारेका छन् ।