बागलुङ । बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।
यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ । बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रुपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाको नीति छ ।
बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई सो नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले बताए।
“करिब तीन सय वर्ष पुरानो नाचका रुपमा रहेको र काठमाडौँमा लोप भइसक्न थालेको तर बागलुङमा जोगाएर राखिएको हनुमान नाचलाई पालिकाको विशेष संस्कृतिका रुपमा विश्वसामु चिनाउने उदेश्य छ”, नगर उपप्रमुख खड्काले भने, “साबिकको धौलागिरि अञ्चलको प्रमुख व्यापारिक थलोका रुपमा रहेको बागलुङ बजारको देउराली चोक, कम्पु टोल र किनारा टोलका ऐतिहासिक घरलाई संरक्षण गर्ने र मुस्ताङ हिँडेका पर्यटकलाई कालिका मन्दिर दर्शन गराएर बागलुङबजार भित्र्याउने हाम्रो योजना हो ।”
तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।