दाङ । जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ । ट्राफिक नियम प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो ।
स्थानीय रुटमा सञ्चालित सवारीसाधनले नियम अनुसार सबै यात्रुले देख्ने गरी सवारी भाडादर टाँस गर्नुपर्ने, फोहर व्यवस्थापनका लागि डस्टबिन (फोहर सङ्कलन गर्ने) राख्नुपर्ने र आरक्षण सिटको व्यवस्था गर्नुपर्ने भए पनि लागू हुन नसकेको गुनासो आएसँगै यसको कार्यान्वयनका लागि ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनलाई निगरानीमा राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेश शाहीले बताए । ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइएको उनले जानकारी दिए ।
बजार क्षेत्रमा अटो अस्तव्यस्तरुपमा सञ्चालन हुँदा सवारीसाधन तथा पैदलयात्रु आवागमनमा समस्या भएपछि अटोलाई तोकिएको स्थानमा व्यवस्थापन गर्न रुट निर्धारण गरी आगामी साउन १ गतेदेखि कार्यान्वयन गरिने प्रमुख प्रहरी उपरीक्षक शाहीको भनाइ छ । “पछिल्लो समय विभिन्न कारणले गर्दा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएकाले सबै निकाय जिम्मेवार हुन आवश्यक छ”, उनले भने ।
एघार महिनामा ९२ जनाको मृत्यु
चालु आर्थिक वर्षको सुरुदेखि जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार ९२ जनाको मृत्यु भएको छ । जेठमा छ, वैशाखमा १०, चैतमा १०, फागुनमा १२, माघमा आठ, पुसमा १८, मङ्सिरमा नौ, कात्तिकमा सात, असोजमा चार, भदौमा तीन र साउनमा पाँच जनाको मृत्यु भएको प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । उनले भने, “७३ पुरुष, १३ महिला र छ जना बालकबालिकाको मृत्यु भएको छ । यस अवधिमा एक सय ९७ वटा सवारी दुर्घटना भएका छन् ।”
एक करोड ५९ लाख राजस्व सङ्कलन
प्रहरीले सवारी जाँचलाई तीव्र बनाएसँगै राजस्व सङ्कलन पनि बढेको छ । एक महिनामा ट्राफिक प्रहरीले रु १९ लाख बढी राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जेठमा रु १९ लाख २० हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।